Kathmandu Press

नेपाल भन्छन्- ओलीले भावनात्मक ब्ल्याकमेलिङ गरिरहेका छन्

आफूलाई केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको नेपालले बताए। अहिले प्रचण्ड र अन्य दलहरूसँगको दूरी बढाउन र आफ्नो सत्ता जोगाउनका लागि ओलीले देशको हितमाथि कुठाराघात गरिरहेको उनको भनाइ थियो।
नेपाल भन्छन्- ओलीले भावनात्मक ब्ल्याकमेलिङ गरिरहेका छन्

काठमाडौं, चैत २४ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगले केपी ओली नेतृत्वको एमालेलाई वैधानिकता दिए पनि नआत्तिन कार्यकर्तालाई आग्रह गरेका छन्।

आफ्नो समूहको वागमती प्रदेश कमिटी बैठकमा उनले समस्या आएमा समाधान निकालिने कुरामा नेता–कार्यकर्तालाई आश्वस्त बनाउने प्रयास गरे। आफ्ना नेता–कार्यकर्ता कसैलाई पनि बीचैमा अलपत्र नपारिने उनले बताए।

‘भोलि वैधानिक रूपमा एमालेमा केपी ओली नै अध्यक्ष हो भनेर निर्वाचन आयोगले भन्यो भने के गर्नुपर्ला भनेर तपाईंहरूलाई परेको होला। नआत्तिनोस्, जहाँ समस्या छ, त्यसको समाधान छ। समाधान हामी निकाल्ने छौँ। त्यसो हुनाले बीचमा तपाईंहरूलाई छाड्ने छैनौँ,’ उनले भने, ‘तपाईंहरू र हामी एउटै डुंगामा सवार भएका छौँ, त्यो डुंगालाई सफलताका साथ वारिबाट पारि पुर्‍याइछाड्ने छौँ। लक्ष्यसम्म पुगिछाडने छौँ।’

आफूहरू लोकतान्त्रिक कम्युनिस्ट शक्तिहरूसँग एकताबद्ध भएर जान चाहिरहेको उनले बताए। त्यस क्रममा विभिन्न राजनीतिक दलका नेतृत्वसँग कुराकानी भइरहेको पनि उनले खुलाए।

‘हामीले संयुक्त जनमोर्चासँग कुरा गर्‍यौँ, उहाँहरू पनि सकारात्मक हुनुहुन्छ। मोहन वैद्यहरूको समूहसँग कुरा गर्‍यौं, उहाँहरू पनि सकारात्मक हुनुहुन्छ, अरू लोकतान्त्रिक पार्टीहरूले पनि हाम्रो कुरालाई सकारात्मक रूपमा लिएका छौँ,’ उनले भने, ‘हामी सबै सकारात्मक शक्तिहरूसँग एकताबद्ध भएर जान चाहन्छौँ। हामीले कसैप्रति नकारात्मक भाव राख्नुपर्ने छैन। तर, यदि हाम्रो पार्टी अगाडि बढ्ने क्रममा कसैले बाधा अवरोध खडा गर्‍यो भने त्यसका विरुद्धमा हामी जुध्नका लागि तयार छौँ।’

आफूलाई केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको नेपालले बताए। अहिले प्रचण्ड र अन्य दलहरूसँगको दूरी बढाउन र आफ्नो सत्ता जोगाउनका लागि ओलीले देशको हितमाथि कुठाराघात गरिरहेको उनको भनाइ थियो।
 

प्रकाशित मिति: १८:०३ बजे, मंगलबार, चैत २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्