Kathmandu Press

सतिप्रथा अन्त्यका लागि योगमायाको ठूलो योगदान : प्रदेश प्रमुख अधिकारी

मोरङ, चैत २४ : प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले योगमायाले राणा शासनकालमा सतिप्रथा अन्त्यका लागि गरेको योगदान स्मरणीय रहेको बताएका...
सतिप्रथा अन्त्यका लागि योगमायाको ठूलो योगदान : प्रदेश प्रमुख अधिकारी

मोरङ, चैत २४ : प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले योगमायाले राणा शासनकालमा सतिप्रथा अन्त्यका लागि गरेको योगदान स्मरणीय रहेको बताएका छन्।

मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाट नाटकघरमा सोमबार ‘योगमाया’ नाटक अवलोकन गरेपछि उहाँले दुर्गम भोजपुरजस्तो पहाडी भूभागमा रहेर सतिप्रथा एवं जहानियाँ राणा शासन अन्त्यमा उनको ठूलो योगदान रहेको चर्चा गरे।

प्रमुख अधिकारीले ६८ महिलालाई आफूसहित अरुण नदीमा फाल हान्न लगाउने योगमायाको साहसिक कार्यबाट मुलुकमा महिला सङ्गठन निर्माण भएको स्मरण गरे। उनले आशीर्वाद थाप्ने त्यो समयमा विद्रोह गर्नु ठूलो साहस रहेको चर्चा गर्दै महिलाले परिवर्तनका लागि लड्नु भनेको ‘झुण्डाइने वा झुण्डिनु’ मात्र कार्य रहेको बताए।

उनले छुवाछूतलगायत समाजमा रहेको विभेद अन्त्यमा योगमायाको योगदान समाजले अहिलेसम्म स्मरण गरेको चर्चा गर्दै नाट्यघरको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा नाटकघर सञ्चालक एवं लेखक भरत गुरागाईं ‘बर्बरिक’ले नाटकलाई ग्रामीण क्षेत्रका साथै भोजपुरमा समेत मञ्चन गरिने जानकारी दिए। सो नाटकको निर्देशन तराईका आदिवासी जनजाति प्रदीप सरदारले गरेका थिए।
 

प्रकाशित मिति: ११:०४ बजे, मंगलबार, चैत २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्