अहिलेको सरकार र भ्रष्टाचार एकअर्काका परिपूरक : डा. डिला संग्रौला
काठमाडौं, चैत २३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेत्री डा. डिला संग्रौलाले अहिलेको सरकार र भ्रष्टाचार एकअर्काकाे परिपूरक भएको बताएकी छन्।सोमबार प्रतिनिधिसभाको बैठकमा...
काठमाडौं, चैत २३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेत्री डा. डिला संग्रौलाले अहिलेको सरकार र भ्रष्टाचार एकअर्काकाे परिपूरक भएको बताएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले कोरोना भाइरसविरुद्धका स्वास्थ्य सामग्री खरिदमा ओम्नी कम्पनीलाई ठेक्का दिएर ठूलो रकम भ्रष्टाचार गरेको उदाहरण दिइन्। उनले पूर्वसञ्चारमन्त्रीको ७० करोड बार्गेनिङको टेपबारे पनि प्रश्न उठाइन्।
उनले लामो संघर्ष र बलिदानपछि प्राप्त लोकतान्त्रिक पद्धतिको अवमूल्यन, संविधानमाथि प्रहार र जनविरोधी क्रियाकलाप प्रधानमन्त्री केपी ओलीले आफू सत्तासीन भएदेखि नै गरेकाले यो सरकार अकर्मण्य, अपारदर्शी, असंवेदनशील र सत्तालोलुपताले भरिएको घैँटो जस्तै भएको उल्लेख गरिन्। उनले चाँडोभन्दा चाँडो यो सरकारको बर्हिगमनको आवश्यकता औंल्याइन्।
प्रधानमन्त्री ओलीको हठवादले पुस ५ गते संसद्को विघटन, कानुनी व्यवस्था र प्रचलित मूल्यमान्यता भत्किएको उनको भनाइ थियो। ओलीलाई प्रतिनिधिसभाको खुला विमर्शभन्दा बालुवाटारको कोठे बैठक प्रिय लागेको आरोप लगाउँदै डा. संग्रौलाले नेपालको इतिहासमा पहिलोपटक अनेक बहानामा संसद्लाई बिजनेसविहीन बनाइएको दाबी गरिन्।
सर्वोच्चले संसद्को पुनःस्थापना गरेसँगै शासन चलाउने नैतिक आधार गुमाइसकेको भन्दै उनले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन आग्रह गरिन्।
कोरोनाको नियन्त्रणका लागि आवश्यक सावधानी र तयारीमा जुट्न सरकारको ध्यानाकर्षण गराइन्। उनले जापानसरकारसँग कूटनीतिक वार्ता गरी उच्च शिक्षा हासिल गर्नबाट वञ्चित थुप्रै नेपाली विद्यार्थीलाई चाँडो भन्दा चाँडो उच्च शिक्षा हासिल गर्ने वातावरण बनाउन पनि सरकारसँग माग गरिन्।
त्यस्तै डीपीआर नै नभएका सडक पूर्वतयारीबिना बालुवाटारबाट शिलान्यास गर्नु, एकै दिनमा ३ सय १६ स्थानीय तहमा विभिन्न अस्पतालको शिलान्यास भयो भनेर प्रचार गर्नु बालुवामा पानी हाले सरह भएको टिप्पणी पनि उनले गरिन्।
ठाउँठाउँमा लागेको डढेलोले वातावरण प्रदुषित भई जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्न गएकाले त्यसको रोकथाम एवं न्यूनीकरणका लागि पनि सरकारको ध्यानाकर्षण गराइन्।
सन्त नेता कृष्णप्रसाद भट्टराईको मेलम्चीको खानेपानी उपत्यकामा ल्याउने योजना र सपना साकार भए पनि सबैले उनीप्रति सम्मान प्रकट गर्नुपर्नेमा जोड दिइन्।











