फेरि बढ्यो वायु प्रदूषण : घरबाहिर ननिस्कन विज्ञको सुझाव
काठमाडौं, चैत २३ : काठमाडौंसहित देशभर वायु प्रदूषण बढेकोले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जनस्वास्थ्य विज्ञ डा. मेघनाथ धिमालले सुझाव दिएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान...
काठमाडौं, चैत २३ : काठमाडौंसहित देशभर वायु प्रदूषण बढेकोले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जनस्वास्थ्य विज्ञ डा. मेघनाथ धिमालले सुझाव दिएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृतसमेत रहेका उनले वायु प्रदूषणले श्वासप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकाले अत्यावश्यक कामले घरबाहिर निस्कनैपर्ने भए एन–९५ मास्कको प्रयोग गर्न आग्रह गरे।
वन जंगलमा डढेलो लाग्दा वायु प्रदूषण बताउँदै उनले यसबाट फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघातजस्ता समस्या देखिन सक्ने भएकाले घरबाहिर ननिस्कन अनुरोध गरिएको बताए।
वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने, टाउको दुख्नेजस्ता समस्या आउने गर्दछन्। नेपालमा बर्सेनि वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारण ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ। विश्वमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ।
उनले केही वर्षयता घरभित्रको वायु प्रदूषण कम र घरबाहिरको वायु प्रदूषण बढी हुने गरेको बताए। उनले अत्यावश्यक नभर्इ सवारीसाधान नचलाउन र सवारीसाधन वा पेसा व्यवसायका कारण हुन सक्ने वायुप्रदूषणका कारणलाई कम गर्न आग्रह गरे।
यस्तो बेलामा बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्ने उनको भनाइ थियो। वायुप्रदूषण्का कारण घरबाहिरको खुला स्थानमा नबस्न, नखेल्न र मर्निङ वाकमा नजानसमेत उनले अनुरोध गरे।
गर्मी बढेसँगै डढेलोका कारण आज (सोमबार) बिहानैदेखि उपत्यकासहित देशभरिको वायु प्रदूषण बढेको छ।
यसअघि उपत्यकामा यही चैतको १३ गतेदेखि पनि यस्तै किसिमको प्रदूषण भएको थियो । प्रदूषणका कारणले सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो।











