आश्रितीले नौ वर्षमै कोरेका सुन्दर कलाकृति
कलामै रम्न चाहने आश्रिती बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको भित्तामा सजिएका आफ्ना कलाकृति देखाउँदै बोलिन्, ‘म डाक्टर पनि नबन्ने, इन्जिनियर पनि नबन्ने। म आर्टिस्ट बन्ने।’काठमाडाैं, चैत २२ : महाराजगंजस्थित काठमाडौं मेरिडियन विद्यालयमा कक्षा ३ पढ्दै गरेकी ९ वर्षीया आश्रुती श्रेष्ठ घर पुगेपछि गृहकार्य भन्दा चित्र कोर्न तल्लिन हुन्छिन्। चित्रकलामा रुचि राख्ने उनी आफ्नो कल्पनामा आएका कुराहरु र वरिपरी देखका दृश्यलाई उतार्छिन्।
उनकै यिनै चित्र शनिबार भने बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सजिएका थिए। भित्ताभरी टाँसिएका चित्रका वरपर दौडिराखेकी उनी प्रफुल्ल थिइन्। हुन पनि उनका लागि यो दिन विशेष दिन थियो।
एक त उनले कोरेका चित्रको पुस्तक ‘करण र कार्टुन’ विमोचन भएको थियो भने अर्को उनको चित्रकाल प्रर्दशनी थियो। तेस्रो, त्यस कार्यक्रमका प्रमुख अतिथि संस्कृतविद् सत्यमोहन जोशी थिए। त्यसैले पनि उनी एकदमै खुशी थिइन्।
समिर कोजूले लेखेको पुस्तकका कथामा आश्रितीले चित्राङ्कन गरेकी हुन्। मोबाइलमा गेममात्र खेलिरहने बालबालिकालाई राम्रो पाठ सिकाउने यस पुस्तकका लागि उनले एक महिना लगाएर चित्र तयार पारेकी थिइन्।
चित्र कोर्न पोख्त उनी भविष्यमा पनि कलामै रम्न चाहन्छिन्। ‘म डाक्टर पनि नबन्ने, इन्जिनियर पनि नबन्ने। म आर्टिस्ट बन्ने,’ उनले सुनाइन्।
उनको बुवा कार्टुनिस्ट अविन श्रेष्ठका अनुसार आश्रितीलाई मोन्टेश्वरी पढ्दा गर्मी महिनामा स्वीमिङ लैजाने कुरा भयो। अघिल्लो दिनमा नै उनले स्वीमिङ कस्ट्युम, ट्युब र चस्मा ल्याइदिएका थिए। उनी पनि भोलिपल्ट जाने स्वीमिङ कस्ट्युम र ट्युब च्यापेर सुतिन्।
भोलिपल्ट भने विहानैदेखि पानी पर्न थाल्यो। यसरी स्वीमिङ जान नपाएकोमा उनी रुने र कराउने पनि गरिनन्। छोरीको त्यतिबेलाको मलिन अनुहार सम्झदै अविन भन्छन्, ‘एकछिनपछि कोठा छेउमा राखिएको ड्रइङ हेर्दा छोरीले एउटा सानो बालिका बनाएको रहेछ। छेउमा आश्रिती नाम लेखिएको चित्रमा उदास बालिकाको आँखाबाट आँसु बगिरहेको थियो। मैले छोरीलाई चित्र देखेर के बनाएको भनी सोधेँ। छोरीले भनिन् आश्रिती स्वीमिङ जान नपाएर रोएको।’
दिउँसो घाम लागेपछि भने उनले हत्तपत्त चित्रमा आँसु मेटेर खुशि भएको बनाएको उनी बताउँछन्। यसरी छोरीले चित्रमार्फत आफ्नो भाव पोखेको देखेपछि आश्रितीका आमाबुवा संगी र अविनलाई लाग्यो छोरीको अन्तरमनको इच्छा नै चित्रमा रहेछ। त्यसयता उनीहरुलाई आश्रितीलाई चित्र कोर्न सघाइ रहेका छन्।
हुन त अविनलाई छोरीले विद्यालयमा नृत्य कक्षा पनि लिइदियोस् भन्ने लाग्छ। तर, आश्रितीको प्राथमिकता भने चित्रकलामै छ।
आश्रितीको चित्रकला हेर्दा सबैले खुशीको भाव महसुस गर्नसक्छन्। किनकि उनले आफ्नो चित्रमा उज्यालो रङलाई रमाइलो तरिकाले पोखेकी छिन्। शान्त र खुशी भइरहने उनी आफ्नोे चित्र देखेर कक्षाका साथीहरु रमाउने गरेको बताउँछिन्।
उनलाई कलाप्रचि रुचि हुनुको श्रेय आमाले बनाइरहेने चित्र र बाबु बनाउने स्केच नै भएको उनी बताउँछिन्। तिनैलाई देखेर चित्र कोर्न थालेको उनी सुनाउँछिन्।
प्रदर्शनमा राखिएका चित्रकलामा उनले चित्र कोर्दै गरेकी आफ्नै आमालाई पनि उतारेकी छिन्। बाबुले कम्प्युटरमा राखेको सूर्य उदाउँदै गरेका स्केचलाई उनले क्रिसमस घर बनाएर आफ्नो चित्रमा उतारेकी छिन्।