भोलिको प्रतिनिधिसभा पनि बिजनेसबिहीन, प्रतिवेदन मात्रै पेश हुने
काठमाडौं, चैत २२ : सरकारले बिजनेस नदिएपछि सोमबारको प्रतिनिधिसभाको बैठक पनि औपचारिक मात्रै हुने देखिएको छ। बैठकमा प्रतिवेदन मात्रै पेश हुने सम्भावित कार्यसूचि...
काठमाडौं, चैत २२ : सरकारले बिजनेस नदिएपछि सोमबारको प्रतिनिधिसभाको बैठक पनि औपचारिक मात्रै हुने देखिएको छ। बैठकमा प्रतिवेदन मात्रै पेश हुने सम्भावित कार्यसूचि तय गरिएको छ।
प्रतिनिधिसभा सचिवालयले आइतबार जारी गरेको सम्भावित कार्यसूचिमा तीन वटा प्रतिवेदन पेश गर्ने मात्रै उल्लेख छ। जसमा संसदीय समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक कार्यसूची पेश गर्ने जनाइएको छ।
प्रधानमन्त्रीका केपी शर्मा ओलीका तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।
त्यस्तै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन २०७७ पेश गर्ने, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जनाएका छन्।
प्रतिनिधिसभा बैठकमा सांसदहरुलाई बोल्नका लागि कार्यसूचीमा उल्लेख नगरिएको विशेष समय र शून्य समयको व्यवस्था हुन सक्ने संघीय संसदका प्रवक्ता डा.रोजनाथ पाण्डेले बताए। मन्त्री छलफलमा सहभागी नभएसम्म विधेयक अघि बढ्नसक्दैनन्। यसमा सरकारले चासो दिएको छैन।











