प्रिमियर लिग : म्यानचेस्टर सिटी र लिभरपुल बिजयी, चेल्सीको लज्जास्पद हार
काठमाडौं, चैत्र २२ : म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई २–० गोलअन्तरले...
काठमाडौं, चैत्र २२ : म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई २–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम लेस्टर सिटीविरुद्ध म्यानचेस्टर सिटीले दुबै गोल दोस्रो हाफमा गरेको हो। म्यानचेस्टर सिटीका लागि बेन्जामिन मेन्डी र गाब्रियल जिससले गोल गरे। लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले यो जितसँगै उपाधि यात्रालाई झनै बलियो बनाएको छ।
३१ खेलबाट म्यानचेस्टर सिटीले ७४ अंक बनाएको छ। तेस्रो स्थानमा रहेको लेस्टर सिटीको भने ३० खेलबाट ५६ अंक छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २९ खेलबाट ५७ अंक छ।
यस्तै, साविकको विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई ३–० गोलले पराजित गरेको हो। घरेलु टिम आर्सनलविरुद्ध लिभरपुलका डियागो जोताले दुई र मोहम्मद सलाहले एक गोल गरे। पहिले हाफसम्म गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो।
त्यस्तै, शनिबार नै भएको अर्को खेलमा लिड्स युनाइटेडले शेफिल्ड युनाइटेडलाई २–१ गोलअन्तरले पराजित गरेको छ। जितसँगै लिभरपुल लिगको पाँचौ स्थानमा उक्लिएको छ। लिभरपुलको ३० खेलबाट ४९ अंक भएको छ। पराजित आर्सनलको भने ३० खेलबाट ४२ अंक छ।
यता, गएराती नै भएको खेलमा चेल्सीले लज्जास्पद हार व्यहोरेको छ । १० खेलाडीमा सीमित चेल्सी रेलिगेसन क्षेत्रको वेस्ट ब्रुमसँग ५-२ गोल अन्तरको लज्जास्पद हार व्यहोरोको हो । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सीले फराकिलो हार व्यहोरेको हो ।
हारसँगै चेल्सीले ३० खेलमा ५१ अंक जोडेर चौथो स्थानमा रहेको छ । वेस्ट ब्रुम २१ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।











