अब छिट्टै नयाँ सरकार बन्छ : प्रचण्ड
कपिलवस्तु, चैत २१ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै नयाँ सरकार बन्ने बताएका छन्।शनिबार कपिलवस्तुको तौलिहवामा आयोजित पार्टी जिल्लास्तरीय...
कपिलवस्तु, चैत २१ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै नयाँ सरकार बन्ने बताएका छन्।
शनिबार कपिलवस्तुको तौलिहवामा आयोजित पार्टी जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सरकार गठनका लागि नयाँ परिस्थिति बनेको बताएका छन्। नयाँ सरकार गठनका लागि छलफल भइरहेको बताउँदै उनले भने, ‘अब छिट्टै नयाँ सरकार बन्छ।’
प्रधानमन्त्री केपी शर्मा ओली मधेशी तथा मुस्लिमको हकअधिकार दिन नचाहने व्यक्ति भएको बताए। प्रचण्डले भने, ‘केपी ओली मधेसी र मुस्लिमका हकअधिकार दिन चाहँदैनन्।’
त्यसैले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई नयाँ मोर्चामा सामेल हुन सुझाएको बताए। प्रमुख प्रतिपक्ष कांग्रेसको निर्णयबाट देशको राजनीतिले कोल्टे फेरेको उनको भनाइ थियो।
नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री ओलीको तत्काल राजीनामा माग्ने र अर्को सरकार गठनका निम्ति पहल गर्ने निर्णय गरेको थियो।
अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुन नचाहेको बताए। आफू प्रधानमन्त्री हुनु नहुनु ठूलो कुरा नभएको बताउँदै उनले भने, 'ओली सरकार टिकाइरहनु देशलाई बर्बादीतर्फ धकेल्दै लैजानु हो।'











