कोरोनाकालमा विश्वभर ४२ हजार बर्गकिमिको वन क्षेत्र नष्ट
काठमाडौं, चैत २१ : सन् २०२० मा विश्वभर वन विनाश तीव्र पाइएको छ। खासगरी, उष्ण क्षेत्रको करिब ४२ हजार वर्गकिलोमिटरको वन क्षेत्र नष्ट...काठमाडौं, चैत २१ : सन् २०२० मा विश्वभर वन विनाश तीव्र पाइएको छ। खासगरी, उष्ण क्षेत्रको करिब ४२ हजार वर्गकिलोमिटरको वन क्षेत्र नष्ट भएको हो।
मेरिल्यान्ड विश्वविद्यालय र अनलाइन मनिटरिङ प्लेटफर्म ‘ग्लोबल फरेस्ट वाच’का अनुसार वन विनाशको तथ्यांक २० वर्षयताको औसतभन्दा बढी पाइएको छ। सन् २००२ देखि २०२० सम्म भएको वन विनाशको क्रम तेस्रो सबैभन्दा खराब रहेको तथ्यांकले देखाएको छ।
गम्भीर वन विनाश खासगरी अमेजन, कंगो र दक्षिण–पूर्वी एसियाको उष्ण प्रदेशहरूमा बढी देखिएको छ। ती जंगल विश्वव्यापी जलवायुमा उत्पन्न हुने कार्बन नियमन र स्थिर इकोसिस्टमका लागि महत्त्वपूर्ण मानिन्छन्। वल्र्ड रिसोर्सेस इन्स्टिच्युट (डब्लूआरआई)का अनुसार यसप्रकारका जंगलमा हुने नोक्सानीको मात्रा एक्लै ४२ लाख हेक्टरबराबर हो, जो ५७ करोड ५० लाखवटा कारबाट उत्सर्जन हुने कार्बनडाइअक्साइड बराबर हुन्छ।
उष्ण क्षेत्रमा एक करोड २२ लाख हेक्टर क्षेत्रफल वनले ढाकेको छ। उक्त क्षेत्रमा सन् २०१९ मा १२ प्रतिशतले वनक्षेत्र बढेको थियो।
सन् २०२० मा ब्राजिलमा सबैभन्दा बढी जंगल फडानी भएको थियो। ब्राजिलको १७ लाख हेक्टरको वन विनाश भएको छ, जुन सन् २०१९ को तुलनामा लगभग एक चौथाइ बढी हो। ब्राजिल सरकारले वनमा डढेलो लगाउन प्रतिबन्ध लगाएको छ। र, जंगलमा सेनाको अभ्यासमा पनि रोक लगाएको छ। त्यसको बावजुद सन् २०१९ को तुलनामा अमेजनको जंगलमा डढेलो बढेको छ। विनाश न्यूनीकरण गर्न लामो समय सुधार गरिए पनि राष्ट्रपति जायर बोल्सोनारोको सरकारले वन फडानीको तीव्र वृद्धि रोक्न सकेको छैन।
‘ब्राजिलले वन फडानीमा व्यापक कटौती गरिसकेको थियो तर अब हामी त्यो सफलता समाप्त भएको देखिरहेका छौँ, जुन हृदयविदारक छ,’ डब्लूआरआईका वरिष्ठ अनुसन्धानकर्मी फ्रान्सिस सेमोरले भनिन्।
अमेजन क्षेत्रसँगै वैज्ञानिकहरू ब्राजिलस्थित विश्वकै ठूलो उष्ण भूमि प्यान्टनालमा भइरहेको वन विनाशबाट ज्यादा चिन्तित छन्। जैविक विविधतामा विनाशकारी प्रभावसँगै सन् २०२० मा डढेलोबाट विश्वको लगभग एक तिहाइ वन क्षेत्र विनाश भएको अनुमान वैज्ञानिकहरूको छ। अधिकांश डढेलोका घटना कृषियोग्य जमिन व्यवस्थापनका लागि भएको पाइएको छ। ब्राजिलको प्यान्टनाल क्षेत्र ४० वर्षभन्दा बढी समयदेखि खडेरीको चपेटामा छ। र, त्यहाँको वनमा डढेलो सल्किनासाथ नियन्त्रणबाहिर जाने गरेको छ।
डब्लूआरआईको वन कार्यक्रमका निर्देशक रोड टाइलरका अनुसार कोरोना प्रसार रोक्न विश्वभर भएको लकडाउन र कोभिड–१९ महामारीले पनि वन विनाश नघटेको देखिएको छ। लकडाउनको कारण सहरी क्षेत्रमा उत्पन्न आर्थिक समस्याबाट मुक्त हुन मानिस आ–आफ्ना ग्रामीण बस्तीमा फर्किए। र, अनाज उत्पादन क्षेत्र बढाउन वन विनाशमा लागे। ‘र, यसले भविष्यमा ठूलो प्रभाव पार्न सक्ने देखिएको छ,’ टाइलरले भने।
महामारीका कारण अर्थतन्त्रमा देखिएको गिरावटले सबैजसो मुलुकका बासिन्दा ऋणको चपेटामा परेका छन्। र, त्यस्तो ऋणबाट बाहिर निस्किन सरकारहरू आफ्नो आर्थिक हितलाई मध्यनजर गर्दै अव्यवस्थित रूपमा वनको दोहन र फडानी गर्न दिन बाध्य हुन सक्छन्।
‘उच्च परिमाणको ऋण सामना गरिरहेका सरकारहरूले आफ्ना नागरिकलाई विकल्प दिन सके भने वन फडानी रोक्न र विनाश भएको वन क्षेत्र पुनः प्राप्त गर्न सक्छन्,’ सेमोरले भनिन्, ‘हामी सरकारहरूले वन विनाश रोक्न कस्ता उपाय अवलम्बन गर्नेछन् भनेर पर्खिरहेका छौँ। आशा छ, हामी यो अवस्थाबाट चाँडै बाहिर निस्किने छौँ।’
सेमोरले वन फडानी रोक्ने केही सफल कथाहरू सुनाइन्। र, त्यसका लागि सरकारका आर्थिक र कानून कार्यान्वयनका नीति कडाइका साथ लागू गर्दाको परिणाम उल्लेख गरिन्।
उनका अनुसार नीति कार्यान्वयनमा कडाइ गर्दा इन्डोनेसियामा वन फडानीमा कमी आउँदै छ। र, इन्डोनेसिया पहिलोपल्ट डब्लूआरआईको प्राथमिक वन फडानी तीव्र रहेका शीर्ष तीन मुलुकको सूचीबाट हटेको छ। सन् २०२० मा इन्डोनेसियाको वन फडानीमा लगातार चौथो वर्ष कमी आएको देखियो।
सन् २०१६ मा दलदल क्षेत्रमा डढेलो लाग्नबाट रोक्न इन्डोनेसिया सरकारले सफलता पायो। र, दलदल क्षेत्रलाई कृषियोग्य जमिनमा रूपान्तरण गर्न रोक लगायो। अनि पाम आयल उत्पादन हुने वनक्षेत्रमा त्यसको दोहनका लागि दिइने गरेको अनुमतिमाथि प्रतिबन्ध लगाइयो।
यस्तै, सन् १९७० को दशकदेखि आफ्नो प्राथमिक वनको एक तिहाइ क्षेत्र गुमाइसकेको मलेसियाले हालै अवैध काठ कटानसम्बन्धी कडा कानून लागू ग¥यो। र, वन फडानी घटाउन सफलता पायो।
त्यसो त, आर्थिक समृद्धि हासिल गरेका मुलुक पनि वन फडानीको समस्याबाट मुक्त छैनन्। जर्मनीमा सन् २०१८ को तुलनामा २०२० मा वन फडानीमा तीन गुणा वृद्धि भएको छ। यो वृद्धिको कारण भनेको बार्क बिटल किराले रुखलाई नष्ट गर्नु हो।
अधिक तापक्रम र सुख्खा मौसमले रुखलाई कमजोर बनाउँछ अनि त्यसमा उक्त किराले आक्रमण गर्छ। अस्ट्रेलियामा गत दुई वर्षमा वन विनाशमा नौ गुणा वृद्धि भएको छ। यसको मुख्य कारण भनेको चरम मौसम परिवर्तन र वनमा लाग्ने डढेलो हो।
मौसममा देखिएको खराब परिवर्तनको कारण वन विनाश पनि बढ्दो छ। आद्र्रतायुक्त वनहरू सुख्खा हुनाले रुखहरू मर्छन् र डढेलोले भयावह रूप लिन्छ।
आगामी नोभेम्बरमा संयुक्त राष्ट्रसंघीय कोप–२६ वार्ताको आयोजना गर्ने बेलायतले मौसम र विकाससम्बन्धी सम्मेलन आयोजना गर्दैछ। जसमा धनी राष्ट्रहरूलाई सबैभन्दा बढी कमजोर देशलाई उत्सर्जन घटाउन र जलवायु परिवर्तनको असर सामना गर्न सहयोग पुर्याउने योजनाहरू ल्याउन आग्रह गरिएको छ। अभियानकर्ताले त्यस सम्मेलनमा वनको आर्थिक मुद्दा उठाइने आशा गरेका छन्।
‘वनको मुद्दा कोप–२६ को एजेन्डामा हुनुपर्छ,’ सेमोरले भनिन्, ‘विश्वका वनहरू अझै पनि ठूलो कार्बन उत्सर्जन हुने मुख्य स्रोत हुन् र हामीले उत्पादित कार्बनलाई विनाशकारी मौसम परिवर्तनलाई रोक्न उपयोग गर्नुपर्छ।’
कोप–२६ का अध्यक्ष आलोक शर्माले धनी मुलुकले जलवायु परिवर्तन समस्याको सामना गरिरहेका गरिब देशलाई सहयोग पु¥याउन आवश्यक रहेको बताए। ‘मानिसहरू जो जलवायु संकटका लागि थोरै जिम्मेवार छन्, सबैभन्दा बढी दुःख उनीहरूले भोगिरहेका छन्। यो घोर अन्याय हो,’ उनले भने, ‘त्यसैले जलवायु परिवर्तनको सबैभन्दा जोखिममा रहेका समुदायलाई सहायता गर्नु विकसित मुलुकको दायित्व हो।’ (द गार्जियनबाट)