एक हप्ताभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ : बस्नेत
फुङ्लिङ, चैत २० : नेकपा (एमाले) का युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक हप्ताभित्र संसद्मा विश्वासको मत लिने बताएका...
फुङ्लिङ, चैत २० : नेकपा (एमाले) का युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक हप्ताभित्र संसद्मा विश्वासको मत लिने बताएका छन्। ्
शुक्रबार फुङ्लिङमा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको जिल्ला कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्था अनुसार विश्ववासको मत लिने बताए। संवैधानिक व्यवस्था अनुसार सरकारको नेतृत्व गरेका प्रधानमन्त्रीको पार्टी विभाजन हुँदा संसद्बाट विश्वासको मत लिनुपर्छ।
सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एकीकरण बदर भएको छ। जसले गर्दा नेकपा विभाजित भएर एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्। त्यसअनुसार, प्रधानमन्त्री ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।
सर्वोच्च अदालतले फागुन २३ गते नेकपा विभाजित भएको फैसला गरेको थियो। त्यसअनुसार ३० दिन चैत २३ गते पुग्छ।
नेता बस्नेतले कम्युनिष्ट आन्दोलन भित्रका विकृति र विसङ्गतिहरूको अन्त्यका लागि सरकार र पार्टीविरुद्ध लाग्ने नेताहरूलाई कारबाही गर्ने, स्पष्टीकरण सोध्ने र सच्चिएर पार्टीमा फर्कने अवसर प्रदान गर्ने एमाले केन्द्रीय कमिटीको निर्णयअनुसार नै पार्टी अध्यक्ष ओलीले कदम चालेको बताए। ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु भीम रावल, राजेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि निलम्बन गरेका छन्।
प्रधानमन्त्रीकै पहलमा देशले विकासको गति लिँदै लिएको दावि गरे। प्रधानमन्त्री ओलीकै पहलमा गौरवको आयोजना तमोर कोरीडोरले गति लिँदै गएको उनको भनाइ थियो।











