प्रचण्डलाई ओलीको प्रश्न- कहाँ भयो प्रतिगमन?
काठमाडौं, चैत २० : प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइको प्रतिवाद गर्दै प्रतिगमन भनेर स्याल हुइयाँ मच्चाएको आरोप...
काठमाडौं, चैत २० : प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइको प्रतिवाद गर्दै प्रतिगमन भनेर स्याल हुइयाँ मच्चाएको आरोप लगाएका छन्।
काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरण कार्यक्रम उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिगमन भनेर जनतालाई अलमल्याएको औल्याएका छन्। आज माओवादी अध्यक्ष प्रचण्डले सरकार प्रतिगमनतिर गइरहेको आरोप लगाएका थिए।
त्यसको जबाफ दिँदै ओलीले स्याल हुइयाँ मच्चाएको जिकिर गरेका हुन्। प्रधानमन्त्री ओलीले भने, ‘जनताको जागेको चेतनालाई कसैले पनि प्रतिगमन भयो भन्ने स्याल हुइयाँ मच्चाए। कहाँ भयो प्रतिगमन? प्रतिगमन भनेको के हो? परिभाषा नै नबुझी प्रतिगमन भयो। ख्यालठट्टा हो प्रतिगमन भनेको? यति सारो जनता अलमल्याउने?’
उनले प्रचण्डलाई इंगित गर्दै कोही प्रधानमन्त्री हुन पाए त्यो क्रान्ति हुने र नभए प्रतिगमन हुने टिप्पणी गरे। उनले भने, ‘कोही शासनमा पुग्न पायो भने क्रान्ति भइहाल्ने। कोही शासनमा पुग्न पाएन भने प्रतिगमन हुन्छ? म प्रधानमन्त्री हुन पाउनु पर्छ भनेर कुद्ने, अवैध बाटोबाट, त्यो भएन भने प्रतिगमन भयो भन्ने गरेका छन्।’
उनले कसैको व्यक्तिगत आकांक्षा परिपूर्ति नहुँदा संघीयता, गणतन्त्र खतरामा रहेको अभिव्यक्ति दिने गरेको आरोप लगाए। प्रधानमन्त्री ओलीले भने, ‘संविधान मासियो, च्यातियो, मिचियो, गणतन्त्र खत्तम हुने भयो। लोकतन्त्र खत्तम हुने भयो। संघीयता त ध्वस्तै पार्न आँट्यो। यस्ता खालका कुराहरु व्यक्तिगत आकांक्षा परिपूर्ति नहुँदा असन्तुष्टि अभिव्यक्ति गर्ने कुरामात्र हुन्। देश अगाडि बढ्छ, विकासको क्रम अगाडि बढ्छ। सरकारको यसैमा ध्यान छ।’
संसद् पुनःस्थापना भएपछि पनि अगाडि बढ्न नसकेको उनको भनाइ थियो। नेताहरुको तानातानले संसद्ले काम गर्न नसकेको उनको आरोप थियो। ‘संसद् पुनःस्थापना त भयो। न काम अगाडि बढाउन सक्छ, न केही गर्न सक्छ। त्यस्तो स्थितिमा संसद् तानातानको थलो भएको छ। संसद् केही बलिया हुँ भन्नेहरुको तानातानको थलो बनाउन हुँदैन,’ ओलील्े भने।
विपक्षीहरुले सरकारलाई काम गर्न नदिएको ओलीको आरोप थियो। तर, उनले कसरी काम गर्न दिएन भन्ने कुरा खुलाएनन्।











