Kathmandu Press

बागलुङ बडिगाड झडपमा संलग्न आठजनालाई गरियाे सार्वजनिक

बाग्लुङ, चैत २० : जिल्ला प्रहरी कार्यालय बागलुङले बडिगाड झडपमा संलग्न आठजनालाई पत्रकार सम्मेलन गरी आज (शुक्रबार) सार्वजनिक गरेको छ। होली पूर्णिमाका दिन...
बागलुङ बडिगाड झडपमा संलग्न आठजनालाई गरियाे सार्वजनिक

बाग्लुङ, चैत २० : जिल्ला प्रहरी कार्यालय बागलुङले बडिगाड झडपमा संलग्न आठजनालाई पत्रकार सम्मेलन गरी आज (शुक्रबार) सार्वजनिक गरेको छ।

होली पूर्णिमाका दिन भएको झडप घटनामा संलग्न बडिगाड गाउँपालिका-१० का २३ वर्षीय मिलन बुढामगर, २४ वर्षीय रेशम भनिने भेषराज बुढामगर, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर बुढामगर, तीर्थलाल बुढामगर, ३१ वर्षीय सूर्य बुढामगर र ४६ वर्षीय ढालबहादुर बुढामगरलाई प्रहरीले सार्वजनिक गरेको हो। 

चैत १५ गते होली खेल्ने क्रममा बडिगाड गाउँपालिका-१० र निसीखोला गाउँपालिका–७ को सिमाना बल्देधुरीमा झडप हुँदा दुईजनाको मृत्यु भएको थियो । घटनामा निसीखोला गाउँपालिका-७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको ज्यान गएको थियो।

प्रहरीले मिलन बुढामगर र रेशम बुढामगरलाई गुल्मीको मदाने गाउँपालिकाबाट, कुमारलाई रुपन्देही, रेशमलाई बुर्तिबाङ, सूर्य र ढालबहादुरलाई दर्लिङबाट पक्राउ गरेको र दुईजनाले जिल्ला प्रशासनमा आएर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए। 

पक्राउ परेका आठैजनालाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक मगरको भनाइ छ। पीडित पक्षले ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। जसमध्ये चार जना पक्राउ परेका हुन्।

घटनामा धेरै युवा संलग्न भएको भन्दै अनुसन्धानका लागि प्रहरी खटिएको प्रहरी उपरीक्षक पल्ली मगरको भनाइ छ।

प्रकाशित मिति: १५:३५ बजे, शुक्रबार, चैत २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्