राष्ट्रिय अपराध सूचना केन्द्र स्थापना गर्दै नेपाल प्रहरी
काठमाडौं, चैत्र २० : देशभरका सम्पूर्ण अपराधको अभिलेखलाई व्यवस्थित बनाउने योजना सहित नेपाल प्रहरीले राष्ट्रिय अपराध सूचना केन्द्र स्थापना गर्ने भएको छ ।कार्य तथा...
काठमाडौं, चैत्र २० : देशभरका सम्पूर्ण अपराधको अभिलेखलाई व्यवस्थित बनाउने योजना सहित नेपाल प्रहरीले राष्ट्रिय अपराध सूचना केन्द्र स्थापना गर्ने भएको छ ।
कार्य तथा अपराध अनुसन्धान विभागअन्तर्गत स्थापना हुन लागेको केन्द्रमा प्रहरीबाहेक अन्य निकायबाट भएका अपराध र त्यसमा संलग्न व्यक्तिहरूको समेत एकीकृत रूपमा तथ्यांक राख्न लागिएको हो । नेपालमा यसरी पहिलोपटक सबै निकायबाट हुने अपराधको एकीकृत तथ्यांक राख्न लागिएको हो ।
यसले अपराधमा संलग्न व्यक्तिहरूको सूचना आदानप्रदानमा सहज हुने नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, वन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अध्यागमन विभागजस्ता निकायबाट मुद्दा दायर भएका व्यक्तिहरूको समेत एकीकृत तथ्यांक राखिनेछ ।
गृह मन्त्रालयकै योजनाअनुसार यसरी एकीकृत अपराध सूचना केन्द्र स्थापना हुन लागेको हो । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी दीर्घकालीन रूपान्तरण अवधारणाको मार्गचित्र निर्माणबारे छलफल अघि बढाएको छ ।











