Kathmandu Press

विमस्टेक मन्त्रीस्तरीय बैठक म्यानमार नरसंहारमा मौन

काठमाडौं, चैत १९ : म्यानमारमा भइरहेको नरसंहारमा मौन रहँदै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को १७ औं परराष्ट्रमन्त्रीस्तरीय...
विमस्टेक मन्त्रीस्तरीय बैठक म्यानमार नरसंहारमा मौन

काठमाडौं, चैत १९ : म्यानमारमा भइरहेको नरसंहारमा मौन रहँदै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को १७ औं परराष्ट्रमन्त्रीस्तरीय बैठक सकिएको छ।

बिहीबार विमस्टेकको अध्यक्ष श्रीलंकाले आयोजना गरेको भर्चुअल बैठकमा सदस्य राष्ट्रहरु भारत, नेपाल, बंगलादेश, श्रीलंका, म्यान्मार, थाइल्याड र भुटानका परराष्ट्रमन्त्री सहभागी थिए। बैठकमा कुनै पनि देशका परराष्ट्रमन्त्रीले म्यानमारमा भइरहेको नरसंहारका विषयमा बोलेनन्।

बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भारतका विदेशमन्त्री एस. जयशंकरसहित अन्य सदस्य मुलुकका विदेशमन्त्रीहरुले निर्धारित एजेन्डामै विमस्टेकका सदस्य राष्ट्रहरुबीच सहकार्य गर्नेलगायतका धारणा राखेका थिए।

बैठकमा म्यान्मारका सैनिक मन्त्रीले आफ्नो मुलुकमा भइरहेको आन्दोलनको प्रसंग निकालेनन्।

त्यस्तै, अन्य देशका मन्त्रीहरुले पनि त्यस विषयमा केही बोलेनन्। म्यानमारमा सैनिक सरकारले नरसंहार गरिरहेको विषयमा अन्तर्राष्ट्रिय क्षेत्रमा आलोचना भइरहेको छ। तर, विमस्टेकमा यो विषय नउठेपछि कूटनीतिज्ञहरुले गलत भएको बताएका छन्।

म्यानमारको सेनाले माघ १९ गते जननिर्वाचित सरकारलाई हटाएको थियो। म्यानमारकी नेत्री आङसाङ सु चीलाई नियन्त्रणमा राखिएको छ। त्यसका विरुद्ध म्यानमारमा आन्दोलन जारी रहेको छ।

शान्तिपूर्ण आन्दोलनमा सुरक्षाकर्मीले गोली चलाउँदै आएका छन्। अहिलेसम्म पाँच सयभन्दा बढी नागरिकको ज्यान गइसकेको छ।

यस अघि बुधबार सदस्य राष्ट्रका परराष्ट्र सचिवको नेतृत्वमा वरिष्ठ अधिकारीहरुबीच बैठक भएको थियो। त्यस बैठकमा पनि म्यानमारको नरसंहारबारे केही कुरा भएको थिएन।

प्रकाशित मिति: २१:२० बजे, बिहीबार, चैत १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्