Kathmandu Press

भुसाल भन्छन्- ओलीले लिएको लोकतन्त्रको हुर्मत अपूरणीय

‘‌ओलीले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँला-गर्नेछौँ । तर, यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन्, त्यो अपूरणीय छ ।’
भुसाल भन्छन्- ओलीले लिएको लोकतन्त्रको हुर्मत अपूरणीय

काठमाडौं, चैत १९ : पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बनमा परेका एमाले उपमहासचिव घनश्याम भुसालले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले लिएको लोकतन्त्रको हुर्मत अपूरणीय रहेको बताएका छन् ।

आफूलाई निलम्बन गर्ने ओलीको पत्र सार्वजनिक भएपछि भुसालले सामाजिक सञ्‍जालमा लेखेका छन्, ‘उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँला-गर्नेछौँ । तर, यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन्, त्यो अपूरणीय छ ।’

असीमित सत्ताभोगको अतृप्त तृष्‍णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’बाहेक केही नदेख्ने बनाएको उनले उल्लेख गरेका छन् । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु भन्‍ने उनी आफैँले कबुल गरेको जीवन दर्शन हो,’ भुसालले लेखेका छन्, ‘एउटा धेरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनका लागि संसारमा या त चाकर छन् या शत्रु ।’

ओलीको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर लोकतन्त्र र वामपन्थको ऋण तिरिने उनले उल्लेख गरेका छन् । र, भनेका छन्, ‘मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि मैले दुनियाँसँग माफी माग्छु ।’
 

प्रकाशित मिति: १४:२९ बजे, बिहीबार, चैत १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्