ओलीद्वारा नेता भुसाल र पाण्डे पनि ६ महिनाका लागि निलम्बित
स्पष्टीकरणको चित्तबुझ्दो नदिएको भन्दै अध्यक्ष ओलीले उनीहरुलाई निलम्बन गरेका हुन्। ओलीले यसअघि नै वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता भीम रावललाई पनि ६ महिनाकै लागि पार्टी सदस्यताबाट निलम्बन गरिसकेका छन्।
काठमाडौं, चैत १९ : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले बिहीबार नेताहरू सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि पार्टी सदस्यताबाट निलम्बन गरेका छन्।
स्पष्टीकरणको चित्तबुझ्दो जबाफ नदिएको भन्दै अध्यक्ष ओलीले उनीहरुलाई निलम्बन गरेका हुन्। ओलीले यसअघि नै वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता भीम रावललाई पनि ६ महिनाकै लागि पार्टी सदस्यताबाट निलम्बन गरिसकेका छन्।
बालुवाटारिस्थत प्रधानमन्त्री निवासमा चैत ७ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टीका उल्लिखित चार नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेसँगै महासचिव ईश्वर पोखरेलले स्पष्टीकरण पत्र पठाएका थिए।
नेता नेपाल र रावलले चैत १२ गते नै स्पष्टीकरणको जबाफ दिएका थिए भने त्यसकाे पाँच दिनपछि चैत १७ गते मात्र नेता भुसाल र पाण्डेले स्पष्टीकरणको जबाफ पठाएका थिए।
भुसाललाई पठाइएको निलम्बन पत्रमा एकता विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने र त्यसलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुराहरु स्पष्टीकरणमा लेखेको पाइएको भनिएको छ।
ओलीद्वारा हस्ताक्षरित पत्रमा स्पष्टीकरणमा सोधिएअनुसार भूलत्रुटि नस्विकारेको, कुनै आत्मसमीक्षा नगरेको, आत्मालोचना गर्ने प्रवृत्ति नदेखिएको, अहंकार र स्वार्थी प्रवृत्ति स्पष्ट रुपमा देखिएको उल्लेख छ।











