समानान्तर गतिविधि गर्न मिल्दैन, अर्को पार्टी खोले हुन्छ : ज्ञवाली
काठमाडौं, चैत १८ : नेकपा (एमाले)का प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेता माधवकुमार नेपाल समूहलाई समानान्तर गतिविधि रोक्न र अर्को पार्टी खोल्न आग्रह...
काठमाडौं, चैत १८ : नेकपा (एमाले)का प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेता माधवकुमार नेपाल समूहलाई समानान्तर गतिविधि रोक्न र अर्को पार्टी खोल्न आग्रह गरेका छन्।
उनले एमाले मन नपरे अर्को पार्टी खोल्न वा कुनै पार्टीमा जोडिन नेपाल पक्षलाई आग्रह गरे। 'नेकपा (एमाले)को नाममा कुनै पनि समानान्तर गतिविधि गर्न मिल्दैन। त्यो भनेको घोषित रुपमा पार्टीलाई विग्रहमा पुर्याउने, पार्टीलाई विखण्डित गर्ने, पार्टीलाई विभाजित गर्ने कुरा हो,’ ज्ञवालीले भने।
बुधबार प्रतिनिधिसभाको बैठकपछि संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता ज्ञवालीले समानान्तर गतिविधि गर्नुभन्दा अर्कै पार्टी खोल्न सुझाए।
'मलाई नेकपा (एमाले) मन पर्दैन भने अर्कै पार्टी खोल्छु, या देशमा विद्यमान कुनै पार्टीसंग जोडिन्छु भन्न पाइन्छ, नेपालको संविधानले हामीलाई त्यो छनोटको स्वतन्त्रता दिएको छ। विचारको छनोटको, समर्थनको छनोटको स्वतन्त्रता दिएको छ,’ प्रवक्ता ज्ञवालीले भने।
नेपाल पक्षले जिल्ला तहसम्म समानान्तर कमिटी गर्ने गर्न थालेको छ। त्यसतो गरिएमा कारबाही गरिने ज्ञवालीको चेनावनी थियो।











