अस्पताललाई तयारी अवस्थामा रहन सरकारको निर्देशन
काठमाडौं, चैत १८ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले अस्पताल र ल्याबलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।बुधबार बसेको स्वास्थ्य तथा जनसंख्या...
काठमाडौं, चैत १८ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले अस्पताल र ल्याबलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
बुधबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को बैठकले देशभरका अस्पताल र ल्याबलाई तयारी अवस्था रहन निर्देशन दिएको हो। आईसीएसको बैठकले कोरोना संक्रमितको संघीय, प्रादेशिक र आधारभूत अस्पतालमा उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ।
त्यसका लागि तयारी अवस्थामा राख्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेको छ। यसअघि भारतबाट आउनेहरुलाई १० दिन क्वारेन्टिनमा राख्न परिपत्र गरेको थियो।
अस्पतालसँगै देशभरका सरकारी र निजी ल्याबलाई पनि तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। सबै ल्याबलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए।
यसअघि देशभर सरकारी र निजी गरी ८४ ल्याबमा कोरोना परीक्षण भएको थियो। फेरि पनि ति सबै ल्याबमा कोरोना परीक्षण गर्ने तयारी गर्नका लागि निर्देशन दिएको हो।
त्यसका लागि आवश्यक जनशक्ति अभाव भएमा रकम माग गर्न पनि मन्त्रालयले आग्रह गरेको छ। बैठकले सरकारी अस्पतालमा भने दुई हजार वटा एचडीयू बेड स्थापना गर्ने निर्णय गरेको छ।
त्यस्तै, केही अस्पतालमा अक्सिजन रिफिलिङ ट्यांक स्थापना गरिने भएको छ। प्रवक्ता डा. गौतमका अनुसार २ सयभन्दा बढी बेड भएको अस्पतालमा अक्सिजन रिफिलिङ ट्यांक स्थापना गरिनेछ।











