Kathmandu Press

आफ्नै केन्द्रीय कार्यालय भवन खोज्दै नेपाल-खनाल समूह

नयाँ पार्टी स्थापनाको कुनै योजना सार्वजनिक नगरिसकेको नेपाल-खनाल समूहले आफ्नै कार्यालय भवनको खोजी थाल्नु अर्थपूर्ण मानिएको छ।
आफ्नै केन्द्रीय कार्यालय भवन खोज्दै नेपाल-खनाल समूह

काठमाडौं, चैत १८ : एमालेको नेपाल-खनाल समूहले आफ्नै केन्द्रीय कायालय भवनको खोजी थालेको छ।

एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेपछि एमाले फुटको दिशामा अग्रसर छ। नयाँ पार्टी स्थापनाको कुनै योजना सार्वजनिक नगरिसकेको नेपाल-खनाल समूहले आफ्नै कार्यालय भवनको खोजी थाल्नु अर्थपूर्ण मानिएको छ।

वरिष्ठ नेता नेपालले बुधबार आफूनिकट युवा संघको काठमाडौं बबरमहलस्थित केन्द्रीय कार्यालय भवन उद्घाटनका लागि आयोजित कार्यक्रममा पार्टीकै केन्द्रीय कार्यालय भवन खोजी गर्न निर्देशन दिएका हुन्। केन्द्रीय कार्यालय स्थापनाका लागि युवा संघले आफूहरूलाई उछिनेको नेपालले बताए।

त्यससँगै नेपाल-खनाल समूह थापाथली हाइटमा ओली समूहले खोजेको केन्द्रीय कार्यालयमा नजाने निश्चित भएको छ। पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको नेपालले औँल्याए। र, नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ सिराबाट अगाडि बढाउनुपर्ने अवस्था आएको उनले बताए।

‘त्यसका लागि सबैले मुठ्ठीदान गर्नुपर्ने बेला आएको छ,’ नेपालले भने, ‘कम्युनिस्ट आन्दोलनलाई हामी विघटन हुन दिँदैनौँ। चैत ४-५ को राष्ट्रिय भेलाले पनि हामीलाई अगाडि बढ्न आदेश दिइसकेको छ। कम्युनिस्ट आन्दोलनको विसर्जन रोक्न सशक्त रूपमा अगाडि बढ्न जरुरी छ। पार्टीका जनवर्गीय संगठनलाई पार्टी पुनर्गठन अभियानमा लाग्न म अनुरोध गर्छु।’
 

प्रकाशित मिति: १४:३७ बजे, बुधबार, चैत १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्