पशुपति परिसरमा के के छन् ?
‘वरिपरिका सबै देवीदेवताको पूजा गरेपछि मात्र मुख्य शिवलिंगको दर्शनका लागि योग्य हुन्छौँ । भनिन्छ, यहाँ ३३ कोटि देवीदेवता छन् ।’
काठमाडौं, चैत १८ : अघिल्लो साता बाग्लुङकी २३ वर्षीया नीलम श्रेष्ठ पशुपतिनाथको मन्दिरमा भेटिइन् । उनले पहिलोपटक पशुपतिनाथको दर्शन गर्दै थिइन् । हिन्दू धर्म–संस्कारमा हुर्किएकी उनलाई काठमाडौं जाँदा पशुपतिनाथको दर्शन गर्ने रहर थियो ।
‘काठमाडौं आइपुगेको पहिलो दिन नै पशुपतिनाथको दर्शन गर्न आएँ,’ उनले भनिन्, ‘यहाँ पुराना कला–संस्कृति झल्काउने खालका मन्दिर रहेछन् ।’ पशुपतिनाथ मन्दिर प्रवेश गर्नासाथ आफूलाई आनन्द लागेको उनले बताइन् ।
पशुपति परिसरमा उनले के के देखिन् त ?
उनी हाँस्दै भन्छिन्, ‘शिवलिंग, एक झलक मात्र देख्न पाएँ । पूजाथाली पुजारीले लिई पूजा गरेर प्रसाद दिनुभयो । आफ्नै हातले पूजा गर्न पाइनँ ।’
पूजा गरेपछि उनी केहीबेर वरपर घुमिन् । जताततै सानासाना मन्दिर, पाटी देख्दा उनलाई रमाइलो लाग्यो । तर, ती सबैको महत्त्व आफूले बुझ्न नपाएको उनको गुनासो छ । उनी भन्छिन्, ‘देवीदेवताको परिचय लेखेर कहीँ टाँसिएको रहेनछ ।’
काठमाडौंको वागमती किनारमा रहेको पशुपतिनाथको मन्दिर हामी नेपाली र समग्र हिन्दू धर्मावलम्बीकै लागि नयाँ होइन । प्राचीनकालदेखि नै यसको अस्तित्व रहँदै आएको पाइन्छ ।
डा. गोविन्द टण्डनका अनुसार, पशुपतिनाथलाई वेदमा रुद्र, शिव, शंकर, महादेव आदि विविध नामबाट सम्बोधन गरिएको छ ।
पशुपति क्षेत्रमा सधैँ भक्तजनको घुइँचो लाग्छ । भक्तजनले विशेषतः यहाँ रहेको शिवलिंगको दर्शन गर्छन् । सन् १९७९ मा विश्वसम्पदा सूचीमा परेको पशुपति परिसरले थुप्रै ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्त्व बोकेको छ । यहाँ पशुपतिनाथसँगै थुप्रै देवीदेवताका मन्दिर छन् । प्राचीन मठमन्दिर, अनुष्ठान, जात्रा, मूर्ति तथा अभिलेख रहेकाले पशुपतिनाथ क्षेत्रलाई खुला संग्रहालय नै मानिन्छ ।
१८,३४२ रोपनी क्षेत्रफल
पशुपति क्षेत्र १८ हजार तीन सय ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार, गुहेश्वरीदेखि पारि धोबी खोलासम्मको भाग, तिलगंगातर्फ एयरपोर्टसम्म, चावहिलतर्फ ओम अस्पतालसम्म पशुपति क्षेत्रको जग्गा हो । ‘तर, गुठीको जग्गा व्यक्तिले भोगचलन गरेका कारण क्षेत्रफल कम हुँदै गएको देखिन्छ,’ उनले भने ।
परिसरका देवता
पशुपतिनाथ क्षेत्रभित्र पाँच सय १८ सम्पदा रहेका छन् । पशुपतिनाथ मन्दिरको मुख्य गेट प्रवेशबित्तिकै बसाहा, नन्दी, साँढे नामले चिनिने शिवको वाहन छ । त्यसलगायत बासुकी नाग, ब्रह्मा, विष्णु, बुढानीलकण्ठ, गंगामाई, सरस्वती, मुक्ति मण्डप, श्रीयन्त्र, सन्तापे, निन्देश्वर महादेव, लाल गणेश, सूर्य भगवान्, सन्ताप हरेश्वर महादेव, गुहेश्वरी, सेतो मच्छिद्रनाथ, रातो मच्छिद्रनाथ, कृतिमुख भैरव यहाँ रहेको खतिवडा बताउँछन् ।
त्यस्तै, शीतलामाई, ६४ शिवलिङ्ग, बायाँतर्फ उन्मत्त भैरव, अष्टमातृका, नवग्रह लगायत देवीदेवता यहाँ रहेका छन् । खतिवडा भन्छन्, ‘वरिपरिका सबै देवीदेवताको पूजा गरेपछि मात्र मुख्य शिवलिंगको दर्शनका लागि योग्य हुन्छौँ । भनिन्छ, यहाँ ३३ कोटि देवीदेवता छन् ।’
पशुपतिनाथ परिसरको उत्खनन गर्ने हो भने करिब ३ लाख शिवलिंग हुनसक्ने अनुमान गरिएको उनले बताए ।
यहाँको श्लेष्मान्तक वनमा हाल मृग पालिएको छ । यहाँस्थित आर्यघाटमा शव जलाइन्छ भने वनकाली क्षेत्रमा दशनामीले दाहसंस्कार गर्ने चलन छ ।
कोषका इन्जिनियर केदार थपलियाका अनुसार, पछिल्लो समय भूकम्प लगायतले क्षति पुगेका परिसरका ५८ सम्पदाको पुनर्निर्माण भइसकेको छ । सात सम्पदा पुनर्निर्माण प्रक्रियामा छन् ।
दैनिक पूजापाठ
बिहान ५ बजे घन्टी बजाएर मन्दिर खुला गरिन्छ । ‘७ बजे बाजा बजाएर पशुपतिनाथलाई जगाइन्छ र स्नान गराइन्छ,’ कोषका कार्यकारी निर्देशक खतिवडा भन्छन्, ‘स्नानपछि बालभोग (हलुवाको भोग) दिइन्छ । भगवानलाई उठाउँदा र भोग दिइँदा छुट्टाछुट्टै बाजा बजाइन्छ ।’
दिउँसो १ बजे मुख्य भोग लगाइन्छ । बेलुकी ६ बजे वाग्मती समूहद्वारा ११ शिवालयअगाडि आरती गरिन्छ । यसरी बेलुकी ७ बजे सबै ढोका बन्द हुने खतिवडा बताउँछन् ।
पशुपतिनाथ क्षेत्रका जात्रा
पशुपतिनाथमा ४० भन्दा बढी जात्रा मनाइन्छ । तीमध्ये मातातीर्थ औंसी स्नान, वनकाली जात्रा, वाग्मती जात्रा, त्रिशूल जात्रा, गंगामाई जात्रा, घण्टाकर्ण चतुर्दशी, गठेमंगल, गुँलाधर्म, गाईजात्रा, खड्ग जात्रा, रोपाइँ जात्रा, कृष्णाष्टमी जात्रा आदि पर्छन् ।











