कर्णाली प्रदेश प्रमुखले मुख्यमन्त्रीलाई दिए अल्पमतमा परेको जनाउ
काठमाडौं, चैत १८ : कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिनका लागि ध्यानाकर्षण गरिएको छ। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई पत्र पठाएर...
काठमाडौं, चैत १८ : कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिनका लागि ध्यानाकर्षण गरिएको छ। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई पत्र पठाएर मत लिनका लागि ध्यानाकर्षण गराएका हुन् ।
एमालेले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन चैत ४ गते फिर्ता लिएको थियो। तर माधव समूहमा रहेका केही प्रदेशसभा सदस्यहरुले भने समर्थन कायमै रहेको बताएका थिए। तर पछिल्लो समय माधव समूह पनि शाही सरकार ढाल्न सहमत भएको बुझिएको छ।
प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्री शाहीलाई पठाइएको पत्रमा चैत ५ देखि लागू हुने गरी मुख्यमन्त्रीमाथि समर्थन फिर्ता गर्नेबारेको एमाले प्रदेशसभा संसदीय दलको पत्र ५ गते जानकारी गराइसकिएकोमा प्रदेश प्रमुखको आदेशानुसार नेपालको संविधानको धारा १८८ को उपधारा (२) मा ध्यानाकर्षणपत्र प्रेषित गरिएको उल्लेख छ।
संविधानको धारा १८८ को २ अनुसार सरकारमा रहेको दल विभाजन भए वा समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने उल्लेख छ।
कर्णालीमा सरकार बनाउन २१ जना सांसद चाहिन्छ। नेकपा एमालेमा २० जना सांसद छन्। उसलाई सरकार बनाउन अर्को कुनै एक दलले समर्थन गर्नुपर्छ।
कर्णालीमा माओवादीका १३ सांसद छन्। नेपाली कांग्रेसका ६ र राप्रपाका एक सांसद छन्। एमालेले नयाँ सरकार बनाउने गृहकार्य गरिरहेको चर्चा छ। एमालेले नयाँ सरकार बनाउने हो भने एक सांसद रहेको राप्रपाको समर्थन लिए पुग्छ।
मुख्यमन्त्री शाहीले विश्वासको मत जित्ने दाबी गर्दै आएका छन्।











