सुरेन्द्र पाण्डेको स्पष्टीकरण- ओली नै प्रचण्डको मतियार
१५ असोज ०७४ मा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र सिट बाँडफाँट गर्ने तथा ३ जेठ ०७५ मा पार्टी एकता गर्दा आलोपालो अध्यक्ष र आधा-आधा अवधि प्रधानमन्त्री हुने गोप्य सहमति अध्यक्ष ओली आफैँले गरेको उनले स्पष्ट पारेका छन्।
काठमाडौं, चैत १७ : एमाले नेता सुरेन्द्र पाण्डेले पार्टीभित्र समानान्तर कमिटीको अभ्यास बाध्यात्मक कदम भएको जवाफ पार्टी अध्यक्ष केपी ओलीलाई दिएका छन्।
‘२ चैतमा धुम्बाराहीमा भएको छलफलमा २८ फागुनको निर्णय र अरु बैठक रोके कार्यकर्ता भेला पनि रोक्न प्रस्ताव गर्दा किन लत्याउनुभयो भन्ने प्रश्नको जवाफमा उनले प्रष्टीकरण दिएका छन्, ‘तपाईंले पार्टी एकता बचाउन हामीले गरेको लचकतापूर्ण प्रस्तावलाई अस्वीकार गरेपछि हामी उक्त भेला गर्न बाध्य भएका थियौँ।’
यसबारे प्रश्न गर्नु साटो देशभरबाट आएका कार्यकर्तालाई धन्यवाद दिनुपर्ने उनले उल्लेख गरेका छन्।
पार्टी एकता जोगाउन २ जेठ ०७५ मा फर्किनुको विकल्प नभएको उनले स्पष्ट गरेका छन्। ‘२८ फागुन र त्यसपछिका गुटभेलाका निर्णयहरू बदर गरी पार्टीलाई विधि, विधानअनुसार सञ्चालन गरे मात्र एकता जोगाउन सम्भव हुनेछ,’ पाण्डेले लेखेका छन्।
आफूलाई स्पष्टीकरण सोध्दा लगाइएका सबै आरोप झूटो भएको उनले उल्लेख गरेका छन्। पाण्डेले भनेका छन्, ‘तपाईंले मलाई आरोपका रूपमा विभिन्न प्रश्न तेस्र्याउनुभएको छ। प्रश्नहरू हेर्दा तपाईंमाथि नै धेरै प्रश्न सोझिएका छन्।’
आफूलाई प्रचण्डको मतियार भनेर लगाइएको आरोप लगाउनु हास्यास्पद भएको उनको भनाइ छ। १५ असोज ०७४ मा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र सिट बाँडफाँट गर्ने तथा ३ जेठ ०७५ मा पार्टी एकता गर्दा आलोपालो अध्यक्ष र आधा-आधा अवधि प्रधानमन्त्री हुने गोप्य सहमति अध्यक्ष ओली आफैँले गरेको उनले स्पष्ट पारेका छन्। ‘अब तपाईं आफैँ भन्नूस्, प्रचण्डको मतियार तपाईं हो कि अरू कोही ?’
यस्तो छ सुरेन्द्र पाण्डेको स्पष्टीकरण











