दुई दशकपछि ६६० भन्सार एजेन्ट थपिँदै
काठमाडौं, चैत १६ : दुई दशकयता सरकारले भन्सार एजेन्ट थपेको छैन । तर यसपालि एकैपटक ६ सय ६० जना भन्सार एजेन्ट थपिने भएको...
काठमाडौं, चैत १६ : दुई दशकयता सरकारले भन्सार एजेन्ट थपेको छैन । तर यसपालि एकैपटक ६ सय ६० जना भन्सार एजेन्ट थपिने भएको छ।
भन्सार विभागले शुक्रबार भन्सार एजेन्टको इजाजतपत्र लिन योग्य व्यक्तिहरूबाट दरखास्त आह्वान गरेको छ। २१ वर्ष पुरा भएको नेपाली नागरिकले सो पदका लागि दरखास्त दिन सक्ने दरखास्त हाह्वान गरिएको सूचनामा उल्लेख छ।
भन्सार विभागका अनुसार व्यापार सहजीकरण गर्दै वैध व्यापार बढाउन यस्तो निर्णय लिइएको हो। अहिले नेपालमा २ सयभन्दा कम भन्सार एजेन्ट छन्।
पटक–पटक भन्सार एजेन्ट नियुक्तिको प्रयास हुँदै आएको थियो । यसपालि भन्सार एजेन्ट थप्न अर्थमन्त्री विष्णु पौडेलले विशेष पहल गरेका हुन्। अब आउने जनशक्ति प्रविधिमैत्री हुने जनाइएको छ। राजस्वमा हुने चुवाहट नियन्त्रणमा एजेन्टको भूमिका महत्वपूर्ण मानिन्छ।
भन्सार एजेन्ट हुन मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तिर्ण गरी कम्प्युटरसम्बन्धी कम्तीमा तीन महिनाको आधारभूत तालिम लिएको हुनुपर्ने सूचनामा उल्लेख छ । सरकारलाई तिर्नबुझाउन बाँकी हुनेले आवेदन दिन सक्नेछैन। कुनै फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको व्यक्तिलाई भन्सार विभागले योग्य मानेको छ। लिखित र अन्तर्वार्ताका माध्यमबाट भन्सार एजेन्ट नियुक्ति गरिनेछ । आवेदन दिँदा ३ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने विज्ञापनमा बतायएको छ । दरखास्तका लागि अन्तिम मिति वैशाख ५ र दोब्बर दस्तुर तिरी वैशाख १२ गते तोकिएको छ। अनलाइनबाटै दरखास्त दिन सकिने व्यवस्था मिलाइएको छ।
लिखित परीक्षा तथा अन्तर्वार्ताबाट छनोट भएका व्यक्तिले नतिजा प्रकाशनको मितिले ९० दिनभित्र इजाजतपत्र दस्तुरबापत ७ हजार रुपैयाँ र धरौटीबापत ७ लाख रुपैयाँ भन्सार विभागमा बुझाउनुपर्ने पनि विज्ञापनमा उल्लेख छ।











