सात हात्तीले मकैबारी नछाड्दा स्थानीय आतंकित
झापा, चैत १६ : आठ दिनयता झापा गाउँपालिका–५ मा सातवटा जंगली हात्तीका मकैबारीमा बसेर नोक्सान गरिरहेका छन् । हात्ती त्यही बसिरहेका कारण स्थानीय...
झापा, चैत १६ : आठ दिनयता झापा गाउँपालिका–५ मा सातवटा जंगली हात्तीका मकैबारीमा बसेर नोक्सान गरिरहेका छन् । हात्ती त्यही बसिरहेका कारण स्थानीय आतंकित बनेका छन्। मकै जोन क्षेत्रका रुपमा रहेको सो ठाउँमा पसेका हात्ती खेदाउन नसक्दा स्थानीय आतंकित भएका हुन्।
डिभिजन वन कार्यालयका प्रमुख युवराज मास्केले घना मकैबारीबीच सात हात्ती बसेकाले लखेट्न समस्या भइरहेको बताए। उनले स्थानीयवासी, प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालयका कर्मचारीले नजिकै रहेको जलथल जंगलतिर लखेट्न खोजिरहेको जानकारी दिए।
उनले साइरनसहितको गाडी लिएर गए पनि हात्ती रहेको स्थानसम्म पुग्ने बाटो नभएको हुँदा किसानको मकै नष्ट भइरहेको बताए । ‘पट्टेर मकैघारी छ, ज्यान जोखिममा राखेर हात्ती रहेको स्थानसम्म पुग्न सकिँदैन,’ उनले भने, ‘बस्तीमा पसेर जनको क्षति नहोस् भनेर पहल गरिरहेका छौं।’
प्रायः दैनिक वनका कर्मचारी हात्ती रहेको स्थानसम्म पुग्ने र फर्किने काम भइरहेको उनको भनाइ छ। गाउँपालिका अध्यक्ष जयनारायण साहले हालसम्म सुत्ला च्यापिसकेको अनुमानित ३० बिघा बढीको मकै हात्तीले क्षति गरिसकेको बताए। सो क्षेत्रमा एक हजार हेक्टर भन्दा बढी क्षेत्रमा किसानले मकैखेती गरेको उनले बताए।
उनले हालसम्म कति किसानले लगाएको मकै नष्ट भयो भनेर विवरण संकलन गर्न नसकिएको बताए। एक सातादेखि बसेका हात्ती लखेट्न नसक्दा क्षतिको विवरण यकिन गर्न नसकिएको उनको भनाइ छ।
उनले डिभिजन वन कार्यालय, प्रहरी र गाउँपालिका स्वयम् हात्ती खेद्न लागि परे पनि नसकिरहेको जानकारी दिए।











