Kathmandu Press

आज तराईमा हर्षोल्लासका साथ होली मनाईदैं 

काठमाडौं, चैत्र १६ : रंगहरुको पर्व होली आज तराईमा हर्षोल्लासका साथ मनाइँदै छ । पहाडी क्षेत्रमा मनाइएको भोलिपल्ट तराईमा होली मनाउने प्रचलन रहँदै...
आज तराईमा हर्षोल्लासका साथ होली मनाईदैं 

काठमाडौं, चैत्र १६ : रंगहरुको पर्व होली आज तराईमा हर्षोल्लासका साथ मनाइँदै छ । पहाडी क्षेत्रमा मनाइएको भोलिपल्ट तराईमा होली मनाउने प्रचलन रहँदै आएको छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ। पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ। तराईमा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै मनाउने गरिन्छ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ। यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन्।

निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए। कोरोना भाइरस महामारीको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै यस वर्ष स्थानीय प्रशासनले होली खेल्दा भीडभाड नगर्न आग्रह गरेको छ।

प्रकाशित मिति: ०८:५६ बजे, सोमबार, चैत १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्