मार्केटिङले फरक पार्छ वाइनको स्वाद !
सन् २००२ मा न्युयोर्कको एक प्रतिष्ठित रेस्टुराँले वालस्ट्रिटका चार कामदारलाई सन् १९८९ को आफ्नो सबैभन्दा महँगो वाइन ‘रोथस् चाइल्ड’ ग्राहकलाई सर्भ गर्यो, जसको...सन् २००२ मा न्युयोर्कको एक प्रतिष्ठित रेस्टुराँले वालस्ट्रिटका चार कामदारलाई सन् १९८९ को आफ्नो सबैभन्दा महँगो वाइन ‘रोथस् चाइल्ड’ ग्राहकलाई सर्भ गर्यो, जसको मूल्य दुई हजार अमेरिकी डलर थियो । एक वाइन पारखीले त्यस वाइनको चुस्की लिए र स्वाद र शुद्धताको प्रशंसा गर्न थाले । खासमा आनन्दमा भुलेका वाइन पारखीमाझ भुलवस ‘पिनोट नायर’ ब्रान्डको वाइन सर्भ गरिएको थियो, जुन रेस्टुराँको सबैभन्दा सस्तो वाइन थियो । र, त्यसको मूल्य १८ अमेरिकी डलर मात्र थियो ।
खासमा, मदिरा विज्ञहरूले मात्र वाइनको वास्तविक गुणस्तर थाहा पाउने यसबाट स्पष्ट हुन्छ । वाइनको मूल्य पत्ता नलागोस् भनेर एक वाइन टेस्टिङ कार्यक्रममा गरिएको अध्ययन भन्छ– मानिसलाई वाइनको मूल्य महँगो भएको बताउँदा स्वाद खुबै मन पराउँछन् र प्रशंसा गर्छन् । र, त्यही वाइन सस्तो मूल्यको भएको बताउँदा नमिठो भएको प्रतिक्रिया दिन्छन् ।
यस्तै प्रयोग स्विजरल्यान्डको बासेल विश्वविद्यालयमा गरिएको थियो । आगन्तुकहरूलाई मनोरञ्जन दिने हेतुले विश्वविद्यालयको मनोविज्ञान विभागले एक वाइन टेस्टिङ सेसन आयोजना गरेको थियो । यो कार्यक्रममा एक सय ४० जना सहभागी भए । वाइन टेस्टिङ सेसन १५ मिनेटको थियो । वाइन टेस्टिङका लागि प्रत्येक सहभागीलाई आ–आफ्नै टेबल दिइयो र कार्यक्रममा संलग्न अरूसँग कुराकानी नगर्न भनियो । ताकि, उनीहरूले वाइनको बारेमा दिने आफ्नो धारणा अरूसँग सेयर गर्न नपाऊन् ।
प्रत्येक टेबलमा वाइनसहित ६ वटा गिलास राखिएको थियो र प्रत्येक आगन्तुकलाई क्रमबद्ध रूपमा त्यो वाइन चाख्न लगाइयो । प्रत्येक घुट्कीपछि सहभागीहरूलाई पानीले आ–आफ्ना गिलास सफा गर्न लगाइयो । र, स्वाद र गहनताबारे मूल्यांकन गर्न भनियो ।
टेबलमा राखिएका केही वाइनका बोतलमा मूल्य राखिएको थिएन । केहीमा भने सस्तो, मध्यम र महँगो मूल्य टाँसिएको थियो । त्यसरी टाँसिएको ‘प्राइस ट्याग’ गलत थियो, चार गुणा बढी या चार गुणा कम मूल्य राखिएको थियो ।
वाइनको वास्तविक मूल्य लुकाउँदा स्वादको मूल्यांकनमा खासै फरक नपरेको अनुसन्धानकर्ताले पत्ता लगाए । अनि, वाइनको मूल्य बढाइयो र त्यसरी नै स्वाद चाख्न सहभागीलाई दिइयो । त्यतिबेला भने स्वादको मूल्यांकन सहभागीले बढी गरे ।
उदाहरणका लागि जब सस्तो वाइनको बोतलमा उच्च मूल्यको ट्याग दिइयो, त्यसले मध्यम मूल्य भएको वाइनलाई जित्यो । सहभागीहरूले सस्तो मूल्य भएको वाइन बढी मन पराए । ‘तसर्थ, मदिराको स्वाद वास्तविक हुन सक्छ, तर यसको व्यक्तिपरक अनुभवले मूल्यमा फरक पार्न सक्ने निष्कर्ष निस्कियो,’ अनुसन्धानकर्ताहरूले रिपोर्ट दिएका छन् ।
संक्षेपमा भन्नुपर्दा महँगो वाइनको सघनता सस्तोको तुलनामा बढी हुनु स्वाभाविकै हो । वाइनको स्वादलाई मूल्यले निर्धारण गर्दैन ।
यी परिणामहरू अघिल्लो अध्ययनको नतिजासँग मेल खान्छन्, जसले वाइनको मूल्यमा हेरफेर गर्दा वास्तवमा यसले वाइन कति स्वादिलो छ भन्ने कुरालाई पनि परिवर्तन गर्न सक्छ । जब कि, वाइनको इन्टेनसिटि यसको मूल्यसँग तुलनात्मक रूपमा स्थिर रहन्छ ।
सन् २००८ मा भएको यस्तै अध्ययनका सहभागीहरू गलत लेबल टाँसिएको वाइन चाख्दै थिए, तब अनुसन्धाकर्ताले उनीहरूको मस्ष्कि स्क्यान गर्न फङ्सनल एमआरआई प्रयोग गरे । जब वाइनको मूल्यवृद्धि गरियो, सहभागीहरू वाइनको स्वादमा अधिक रमाए । जबकि, वाइनको ‘इन्टेसिटी रेटिङ’ समान थियो ।
सन् २०१७ मा जर्मनीको बोन विश्वविद्यालयमा गरिएको फलोअप अनुसन्धानले पनि यही नतिजालाई पुष्टि गर्यो । र, वाइन चाख्न उपस्थित सहभागीको मस्तिष्क स्क्यानका क्रममा उत्पादनको मूल्य बढाउँदा यसको स्वादको सापेक्षिक रिपोर्टमा परिवर्तन पाइयो । इन्टेसिटीमा भने कुनै परिवर्तन देखिएन ।
‘इनाम र प्रेरणा प्रणालीलाई उच्च मूल्यले तुलनात्मक रूपमा सक्रिय पार्छ र स्पष्ट रूपमा स्वादको अनुभव बढाउँछ,’ अर्थशास्त्री बन्र्ड वेबरले भने ।
यी अध्ययनले मार्केटिङले मानिसको दिमाग र आनन्दानुभूतिलाई कसरी प्रभावित पार्छ भन्ने बुझ्न मद्दत गर्छन् । पछिल्लो एफएमआरआई अध्ययनमा सहभागीहरूलाई प्लास्टिक ट्युबमार्फत वाइन पिलाइएको थियो, रंग र गन्धलाई ध्यानमा राखिएको थिएन, केवल मूल्य र स्वादमा अध्ययन केन्द्रित थियो ।
साइन्स अर्लट डट कमबाट