Kathmandu Press

काठमाडौंमा ‘लिभिङ टुगेदर’ : सम्बन्ध बिग्रिएपछि उजुरी

महिलाले दिने बढीजसो उजुरी ‘विवाह गरी घरजम भएको पुरुषले अविवाहित भनी सँगै बसेर आफूलाई धोका दिएको’ भन्ने हुन्छ । ‘लिभिङ टुगेदर’बाट पीडित महिला नै उजुरी गर्न आउँछन् । 
काठमाडौंमा ‘लिभिङ टुगेदर’ : सम्बन्ध बिग्रिएपछि उजुरी

काठमाडौं चैत १५ : काभ्रेपलाञ्चोक भकुण्डे घर भएकी  २४ वर्षीया मञ्जु (नाम परिवर्तन) दुई वर्षदेखि आफ्ना प्रेमीसँग काठमाडौंमा ‘लिभिङ टुगेदर’ (सँगै बस्ने) गर्छिन् । काभ्रेपलाञ्चोक पनौती नगरपालिका घर भएका उनका २६ वर्षीय प्रेमी श्याम (नाम परिवर्तन) सँग मञ्जुको चिनजान काठमाडौं आउनुअघि नै काभ्रेपलाञ्चोकमै भएको थियो । उनीहरूको चिनजान बिस्तारै प्रेममा बदलियो । श्याम तीन वर्षअघि होटलमा काम गर्न काठमाडौं आएका थिए । गहिरो प्रेम भएपछि श्यामले मञ्जुलाई पनि काठमाडौं बोलाए, कुनै काम खोजौँला भनेर । 

‘शिक्षित नभएका कारण राम्रो जागिर गर्न सकिनँ । यहाँ आफन्त पनि थिएनन् । खान–बस्न नै समस्या थियो,’ मञ्जु भन्छिन्, ‘त्यसैले ऊसँग बस्दा सुरक्षित हुने ठाने, गलत लागेन । आफूलाई माया गर्ने मान्छेसँग बस्न के गलत भयो र ?’ 

अहिले उनीहरू दुवैजना होटलमा काम गर्छन् । मञ्जुको मासिक तलब ८ हजार रुपैयाँ छ भने श्यामको १० हजार । यही कमाइले उनीहरूलाई काठमाडौंमा बस्नखान पुगेको छ । मञ्जु भन्छिन्, ‘एक्लै बस्दा आफ्नो तलबले कोठाभाडा र खान पनि धौ धौ हुन्थ्यो ।’

Hardik ivf

काठमाडौंमा जीविकोपार्जनबाहेक उनीहरूको अर्को समस्या पनि छ, जात । मञ्जु कथित तल्लो जात (सार्की) की हुन् भने श्याम कथित माथिल्लो जात (नेवार) का । ‘घर–परिवारले स्वीकार गर्दैनन् भन्ने डर छ । यसै पनि हामी घरपरिवारदेखि लुकिछिपी नै बस्नुपथ्र्यो,’ मञ्जु भन्छिन्, ‘हामी यहाँ सँगै बसेको हामी दुवैको परिवारलाई थाहा छैन । कोर्ट म्यारिज गरेपछि मात्र घरपरिवारलाई जानकारी गराउँछौँ ।’ 

मञ्जु आफूहरूको प्रेम सफल हुनेमा ढुक्क छिन् । अहिले काठमाडौंको घरबेटीलाई उनीहरूले आफूहरू श्रीमान्श्रीमती भएको बताएका छन् ।

०००

सिन्धुपाल्चोक घर भई हाल मैतीदेवी बस्दै आएका २५ वर्षीया मनोज  (नाम परिवर्तन) दुई वर्षदेखि आफ्नी प्रेमिकासँग लिभिङ टुगेदरमा छन् । सामाजिक सञ्जालमार्फत तीन वर्षअगाडि २२ वर्षीया रीता (नाम परिवर्तन) सँग उनको भेट भएको थियो । त्यतिबेला रीता आफन्तकहाँ बसेर गौशालास्थित हार्डवयर पसलमा काम गर्थिन् । 

‘आफन्तकहाँ बस्दा उनलाई गाली तथा नराम्रो व्यवहार गर्न थाले । त्यसैले विवाहअघि नै सँगै बस्न थालेका हौँ,’ मनोज भन्छन्, ‘तर, उनले आफन्तलाई आफू एक्लै बसेको बताएकी छन् । मैले पनि आफन्तलाई एक्लै बस्ने बताएको छु । हामी सँगै बस्दा खर्च कम भएको छ । प्रेम भएपछि सँगै बस्न मनलाग्दो रहेछ ।’ 

कहिलेकाहीँ डेरामा दुवैका आफन्त आउँछन् । त्यस्तो बेला एकजना बाहिर निस्कने गर्छन् । मनोज र रीताको पनि जात फरक छ, रीता बाह्मण हुन् भने मनोज नेवार । आफूहरूको प्रेम विवाहमा परिणत हुनेमा मनोज ढुक्क छन् । केही महिनामा परिवारलाई भनेर विवाह गर्ने उनीहरूको योजना छ । 
                                                                                ०००
स्याङ्जा स्थायी घर भएका २६ वर्षीय सुरज रेग्मी ‘लिभिङ टुगेदर’लाई सामान्य मान्छन् । उनी तीन वर्षअगाडि पोखराको दोहोरी साँझमा काम गर्थे । उनी स्याङ्जामै हुँदा एक युवतीसँग प्रेम भयो । पछि उनकी प्रेमिका पनि पोखरा आइन् र उनीहरू दुई वर्षजति सँगै बसे । 

पोखरामा कोठाभाडा नपाइने तथा महँगी धेरै भएकाले आफूहरू सँगै बसेको उनी बताउँछन् । ‘अहिले उनको अर्कैसँग बिहे भइसक्यो,’ सुरज भन्छन्, ‘लामो समय सँगै हुँदा झगडा परेकाले हामी छुट्टियौँ ।’ 

महिला आयोगमा मासिक चार–पाँचवटा उजुरी

तीन साताअगाडि काठमाडौंमा प्रेमीसँग लामो समयदेखि लिभिङ टुगेदरमा रहेकी एक युवती राष्ट्रिय महिला आयोगमा आइन् । ‘आफू लामो समयदेखि सँगै बसेको, दुवैको घर–परिवारमा थाहा भइसकेको तर अहिले केटाले विवाह गर्न नचाहेको जस्तो व्यवहार देखाएको’ उनको उजुरी थियो । 

यस्ता उजुरी मासिक चार–पाँचवटा आउने राष्ट्रिय महिला आयोगकी मुद्दा व्यवस्थापक (अधिवक्ता) विमला खड्का बताउँछिन् । ‘कोही लामो समय सँगै बसेर पनि पुरुषले अर्काे विवाह गरेको, महिलालाई दीर्घकालीन रोग लागेपछि छाडेको’ उजुरी दिन आउने उनको भनाइ छ । 

उनका अनुसार, ०७५ मा घरेलु हिंसा ऐन संशोधन गरेपछि ‘लिभिङ टुगेदर’ गरेका पीडित समेटिन्छन् । बाहिरी रूपमा युवायुवती सँगै बसेको कुरा खुलेर भन्दैनन् । विविध समस्या आइपरेपछि मात्र खुलेर भन्ने गरेको उनी बताउँछिन् । ‘धेरैजसो युवायुवती सहरी क्षेत्रमा विवाह नगरी गोप्य रुपमा सँगै बस्ने गरेको पाइन्छ,’ उनी भन्छिन्, ‘विदेशमा लिभिङ टुगेदरलाई सामान्य मानिन्छ । तर, हाम्रो संस्कृति, धर्म, समाजले त्यस्तो कुरालाई नकारात्मक रूपले हेर्छ, त्यसैले गोप्य राख्छन् ।’

मासिक चार–पाँचवटा उजुरी आउने हुँदा लिभिङ टुगेदरमा धेरै रहेको हुन सक्ने उनी बताउँछिन् । उनका अनुसार, महिलाले धेरैपटक गर्भपतन गराएर स्वास्थ्यमा समस्या आएपछि, पुरुषको दायित्व बढ्न थालेपछि, अथवा महिलालाई जटिल रोग लागेपछि पुरुषले छाड्ने गरेको केस आउँछन्  । उनी भन्छिन्, ‘विवाहको केही प्रमाण हुँदैन, त्यसैले कारबाही गर्न कठिन हुन्छ ।’  

सँगै बस्दा भएका प्रमाण पुरुषले नष्ट गरिदिने गरेको पनि पाइन्छ । ‘त्यसैले सँगै बस्दा महिला आफैँ सचेत हुनुपर्ने देखिन्छ,’ उनले भनिन् ।

‘विवाहित पुरुष लिभिङ टुगेदरमा’ 

महानगरीय प्रहरी परिसर काठमाडौं (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र) का अनुसार, मासिक ८–९ वटा ‘लिभिङ टुगेदर’सम्बन्धी उजुरी आउँछन् । महिलाले दिने बढीजसो उजुरी ‘विवाह गरी घरजम भएको पुरुषले अविवाहित भनी सँगै बसेर आफूलाई धोका दिएको’ भन्ने हुने केन्द्रकी प्रमुख अनु लामा बताउँछिन् । 

‘लिभिङ टुगेदरमा पीडित महिला धेरै उजुरी गर्न आउँछन्,’ उनी भन्छिन्, ‘लिभिङ टुगेदरको सन्दर्भमा पुरुष उजुरी गर्न आएका छैनन् ।’ 

उनका अनुसार, विवाहित पुरुष अविवाहित भनी सँगै बस्ने, विवाहित महिला र अविवाहित पुरुष सँगै बस्ने, दुवै विवाहित भएर पनि घरपरिवारलाई छलेर सँगै बस्ने गरेको पाइन्छ । पुरुषले विवाह गर्न नमान्ने, सँगै बसेको केही समयपछि पुरुषले छाडिदिने हुँदा महिलाहरू उजुरी दिन आउँछन् । 

उनका अनुसार, सहमतिमा सँगै बसे पनि पुरुषले झुक्काएको छ भने बलात्कारको मुद्दामा उजुरी दिन मिल्छ । ‘अन्यथा प्रमाण नहुँदा कारबाही गर्न कठिन हुन्छ ।  लिभिङ टुगेदरका लागि कानुन छैन,’ उनी भन्छिन्, ‘त्यस अन्तर्गत आएका उजुरीमा घटनाको प्रकृति हेरी घरेलु हिंसा, लैङिक हिंसासँग मिल्दोजुल्दो भए कारबाही गरिन्छ । अन्यथा कारबाही गर्न सकिँदैन । त्यसैले सकेसम्म मेलमिलापमा जोड दिइन्छ ।’ 

सरकारले लिभिङ टुगेदरलाई मान्यता  दिएको छैन । साथै, यसलाई निषेध गरेको पनि छैन । ‘कानुन नभएका कारण लिभिङ टुगेदरका उजुरीमा के कारबाही गर्ने भन्ने अन्योल हुन्छ,’ लामा भन्छिन्, ‘उजुरी आएका ५० प्रतिशत मुद्दामा प्रमाण पनि हुँदैन र कारबाही गर्न कठिन हुन्छ । त्यसैले दुवै दुई पक्ष बोलाएर सहमतिमा छलफल गरेर मुद्दा मिलाउने कोसिस गरिन्छ ।’ 

उनका अनुसार, काठमाडौं बाहिरका मानिस, जो काठमाडौंमा रोजगारी वा अन्य सिलसिला बस्छन्, उनीहरू सँगै बस्ने गरेको पाइन्छ ।

‘काठमाडौं महानगरपालिकामा उजुरी आएका छैनन्’ 

महानगरपालिकामा उप–प्रमुखको काम, कर्तव्यभित्र न्यायिक समिति पर्छ । नगरवासीको समस्याको सहजीकरणका लागि न्यायिक समिति गठन गरिएको हो । काठमाडौं महानगरपालिका उप–प्रमुख हरिप्रभा खड्गी भन्छिन्, ‘लिभिङ टुगेदरका  मुद्दा हामीकहाँ आएको छैन ।’ 

उनका अनुसार, महिलाहिंसा, घरेलुहिंसाका उजुरी भने आइरहेका छन् । 

 
 

प्रकाशित मिति: १७:२० बजे, आइतबार, चैत १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्