नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौं, चैत १४ : दिवङ्गत नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको शनिबार अन्त्येष्टि गरिएको छ। मस्तिष्कघातका कारण शुक्रबार राति ८ः२४ बजे नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन...
काठमाडौं, चैत १४ : दिवङ्गत नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको शनिबार अन्त्येष्टि गरिएको छ।
मस्तिष्कघातका कारण शुक्रबार राति ८ः२४ बजे नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएका नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। उनको पार्थिव शरीरमा दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागवत्ती दिए।
अन्त्येष्टिपूर्व श्रद्धाञ्जलीका लागि उनको शव निवास याख्याटोल र कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो। सानेपामा उनको पार्थिव शरिरलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।
सभामुख अग्नप्रिसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत कांग्रेस पार्टी कार्यालय सानेपा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए।
विस २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी नेपाल विद्यार्थी सङ्घको पूर्वमहामन्त्री, काठमाडौँ महानगरपालिकाको पूर्वउपमेयर, विस २०६४ र २०७० सालमा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभाको निर्वाचनमा निर्वाचित भएका थिए।
नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत सङ्घर्षरत अथक योद्धा जोशी राजनीतिलाई सँधै जनताको सेवा गर्ने भावना र अवसरका रुपमा लिने सरल, बौद्धिक र क्षमतावान नेता जोशी कांग्रेसका निष्ठावान राजनीतिज्ञका रुपमा परिचित थिए।
मस्तिष्कघात हुनुभन्दा पहिले नेता जोशी आफ्नो निर्वाचन क्षेत्रको घरघरमा पुगेर कोरोनाको सामग्री वितरण गर्दै आएका थिए। विसं २०७३ सालमा उद्योगमन्त्री भएका नेता जोशी नेपाली कांग्रेसको १२ औँ र १३औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य बनेका थिए।
नेता जोशीका श्रीमती र एक छोरी छन्।





