Kathmandu Press

एमालेका दुई समूहबीच भेटिएको हो त मिलन विन्दु?

१३ चैतमा नेपाल-खनाल समूहका बहुसंख्यक सांसद पार्टी संसदीय दलको सामेल भएपछि एमालेमा मिलन विन्दु फेला परेको आकलन गर्न थालिएको छ।
एमालेका दुई समूहबीच भेटिएको हो त मिलन विन्दु?
२ चैतमा एमाले मुख्यालय धुम्बाराहीमा भेला भएका एमाले शीर्ष नेताहरू । फाइल तस्बिर

काठमाडौं, चैत १४ : २३ फागुनमा सर्वोच्च अदालतले तत्कालीन नेकपाको दर्ता खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई साविककै अवस्थामा फर्कायो। परिणाम- प्रधानमन्त्री केपी ओलीविरुद्ध मोर्चा कसेका पुष्‍पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूले आ-आफ्नै पार्टीमा फर्किनुपर्‍यो। एमाले वरिष्‍ठ नेता नेपाल र झलनाथ खनालले नेतृत्व गरेको समूह पुरानै पार्टीमा फर्किनुअघि एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकपक्षीय रूपमा पार्टी पदाधिकारीलाई जिम्मेवारीबाट हटाए। त्यसले एमालेभित्र तिक्तता अझ बढायो। १३ चैतमा नेपाल-खनाल समूहका बहुसंख्यक सांसद पार्टी संसदीय दलको सामेल भएपछि एमालेमा मिलन विन्दु फेला परेको आकलन गर्न थालिएको छ।

लगभग फुटको मोडबाट गुज्रिएको एमाले अब एकजुट रहला त ? एमाले संसदीय दलकी सचेतक शान्ता चौधरी भन्छिन्, ‘केही समय लाग्ला तर मिल्नुको विकल्प देखिँदैन। तसर्थ मिलन विन्दु खोजिरहनुपर्ने अवस्था नै छैन।’

त्यसो त, पार्टी अध्यक्ष ओलीबाट अपमानित महसुस गरिरहेको नेपाल-खनाल समूहले एमालेमा समानान्तर गतिविधि अगाडि बढाएको छ। अध्यक्ष ओलीको एकपक्षीय निर्णय र त्यसविरुद्ध नेपाल-खनाल समूहको समानान्तर गतिविधिका कारण एमाले केन्द्रदेखि स्थानीय तहसम्मै दुई भागमा विभाजित देखिएको छ।

Hardik ivf

नेपाल-खनाल समूहले पार्टीमा समानान्तर कमिटी धमाधम निर्माण गरिरहेको छ। ४-५ चैतमा ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा राष्‍ट्रिय कार्यकर्ता भेला नै आयोजना गर्‍यो, यो समूहले। त्यस भेलामा नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा नेताहरू सिद्धिलाल सिंह, मोहनचन्द्र अधिकारी, राधाकृष्‍ण मैनाली र मोदनाथ प्रश्रितसम्मले सहभागिता जनाए। लगत्तै नेपाल-खनाल समूहले युवा, महिला र विद्यार्थीका भेला पनि आयोजना गर्‍यो। ओली समूहले पनि युवा, महिलालगायत शुभेच्छुक संगठनका भेला आयोजना गर्न कुनै कसर छाडेन।

राष्‍ट्रिय कार्यकर्ता भेलाकै बीचमा ओली समूहले संसदीय दलको बैठक डाक्यो। नेपाल-खनाल समूहका सांसदहरू बालुवाटारमा आयोजित उक्त बैठकमा सामेल हुन हेरिटेज गार्डेनबाट बस चढेर थापाथली पुगेका थिए, त्यहीँबाट वरिष्‍ठ नेता नेपालले उनीहरूलाई फर्काए।

त्यसअघि २ चैतमा अध्यक्ष ओली र नेपाल-खनाल समूहका शीर्ष नेताबीच बैठक भयो। त्यस बैठकको उद्देश्य थियो, नेपाल-खनाल समूहले आयोजना गरेको राष्‍ट्रिय कार्यकर्ता भेला रोक्नु। तर, वरिष्‍ठ नेता नेपालले भनेझैँ ‘बैठक सुरुमा गुलियो भयो, अन्तिममा टर्रो’। त्यसैले ४-५ चैतको कार्यकर्ता भेला पनि रोकिएन। नेता-कार्यकर्तालाई त्यस भेलामा नजान एमाले महासचिव ईश्‍वर पोखरेलले विज्ञप्तिमार्फत चेतावनी दिए। त्यसका बावजुद नेपाल-खनाल समूहका नेता-कार्यकर्ता भेलामा सहभागी भएरै छाडे।

७ चैतमा केन्द्रीय कमिटी बैठकबाट वरिष्‍ठ नेता खनाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्‍टीकरण सोध्‍ने निर्णय ओली समूहले गर्‍यो। नेपाल र रावलले आफ्नो स्पष्‍टीकरण बुझाइसकेका छन्। भुसाल र पाण्डेको स्पष्‍टीकरण अध्यक्ष ओलीसम्म पुग्‍न बाँकी छ। १३ चैतमा फेरि ओली समूहले संसदीय दलको बैठक बोलाए, जसमा नेपाल र रावलबाहेकका सांसद सहभागी भए।

७ चैतको केन्द्रीय कमिटी बैठकमा सहभागी नभएको नेपाल-खनाल समूहको यो सहभागितालाई ‘यू-टर्न’का रूपमा व्याख्या गरिएको छ। र, यही विन्दुमा एमाले एक रहने आशा कार्यकर्तामाझ देखिएको छ।

संसदीय दलकी सचेतक चौधरी कम्युनिस्ट पार्टीभित्र आन्तरिक बहस, छलफल, विवाद हुनुलाई स्वाभाविक मान्छिन्। ‘यस्ता घटना, परिघटनाहरू एमालेमा मात्र नभई सबै पार्टीमा भइरहन्छन्,’ उनी भन्छिन्, ‘यसलाई बर्बादीको अवस्था मान्‍न सकिँदैन।’ एमालेका ओली र नेपाल-खनाल समूह एक ठाउँमा आउनुको विकल्प नरहेको उनको ठम्याइ छ।

‘परिपक्व नेताहरू भएकाले पार्टीभित्र छलफल, बहस गर्ने क्रममा तिक्तता आउनु स्वाभाविक हो। पार्टीभित्रका यस्ता विवादले निचोड पनि निस्किन्छ,’ उनी भन्छिन्, ‘पार्टी नै फुटाएर त कसरी अगाडि बढ्नु ? तसर्थ नेताहरू सबै एकै ठाउँमा बसेर ढिलोचाँडो निचोड निकाल्नुहुन्छ।’

नेपाल-खनाल समूहमा रहेका एमाले सचिव गोकर्ण बिष्‍ट यतिबेला संयम र जिम्मेवारीका साथ सबैको भूमिका अपरिहार्य देख्छन्। ‘देशभित्र र बाहिरका शक्तिहरू एमालेको विभाजन र पार्टीलाई कमजोर बनाउन प्रयत्‍नशील छन्,’ बिष्‍ट भन्छन्, ‘त्यसबाट सतर्क हुँदै अदालतको फैसलाले साविकको अवस्थामा फर्काइसकेको एमालेलाई केन्द्रीय कमिटीको आधिकारिक र औपचारिक बैठकमार्फत नयाँ ढंगले अगाडि बढ्न प्रयत्‍न गर्दा फेरि पार्टीको एकता जोगिन्छ।’

कम्युनिस्ट आन्दोलन जोगाउन फेरि पनि संयम र उदारताका साथ पहल हुनुपर्ने उनको आग्रह छ। भन्छन्, ‘यसमा सबै नेता जिम्मेवार हुनुपर्छ। त्यसमा पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री बढी जिम्मेवार हुनुपर्छ।’

अन्य नेताहरूले पनि पार्टी एकताका लागि प्रयत्‍न गर्नु जरुरी रहेको उनको भनाइ छ। ‘ठूला युद्ध पनि संवाद र छलफलबाट शान्तिमा परिणत हुन्छन् भने पार्टीभित्रको संकट समाधान नहुने कुरै होइन,’ उनी भन्छन्, ‘फेरि पनि समाधानका लागि एक स्टेप अगाडि बढेर पहल गर्नुपर्छ।’

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले जिम्मेवार भूमिका वहन गरेको खण्डमा एकताका लागि सहज वातावरण तयार हुने उनको बुझाइ छ। ‘निकास नै निस्कँदैन भन्‍ने छैन। संवादहीनता अन्त्य भए मिलन विन्दुमा पुग्‍न कठिन देखिँदैन,’ उनी भन्छन्।
 

प्रकाशित मिति: १७:३३ बजे, शनिबार, चैत १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्