Kathmandu Press

कांग्रेसद्वारा जोशीको निधनप्रति शोक प्रस्ताव पारित, तीन दिन पार्टीकाे झन्डा आधा झुकाइने

काठमाडौं, चैत १४ : नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।कांग्रेस केन्द्रीय कार्यसमितिको आज (शनिबार) पार्टी कार्यालयमा...
कांग्रेसद्वारा जोशीको निधनप्रति शोक प्रस्ताव पारित, तीन दिन पार्टीकाे झन्डा आधा झुकाइने

काठमाडौं, चैत १४ : नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आज (शनिबार) पार्टी कार्यालयमा बसेको आकस्मिक बैठकले नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्वउपमेयर, संविधानसभा सदस्य, पूर्वमन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेता जोशीको निधनले स्तब्ध र मर्माहत बनाएको भन्दै शोक प्रस्ताव पारित गरेको छ। 

बैठकले यही चैत १५, १६ र १७ गते तीन दिन केन्द्रीय कार्यालयका साथै सबै जिल्ला कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ। बैठकले ती तीन दिनमा शोकका बाहेक पार्टीका अरू कुनै औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरेको छ। 

यसैगरी बैठकले नेता जोशीको स्वर्गारोहणको १३औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र १३औं दिनको पुण्य तिथिमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत रूपमा संघर्ष गरेका अथक योद्धा रहेको उल्लेख गर्दै शोक प्रस्तावमा भनिएको छ, ‘पार्टी राजनीतिलाई सधैं जनताको सेवा गर्ने भावना र अवसरका रूपमा लिने सरल, बौद्धिक र क्षमतावान् नेता जोशी नेपाली कांग्रेसमा निष्ठावान् राजनीतिज्ञका रूपमा परिचित हुनुहुन्थयो ।’

लोकतान्त्रिका आन्दोलनका क्रममा स्वर्गीय जोशीले पटकपटक गरी करिब एक वर्ष जेल जीवनसमेत व्यतीत गरेको जनाउँदै बैठकले पार्टीका विभिन्न तहका पदमा रही जोशीले नेपाली कांग्रेसलाई सुदृढ एवं गतिशील बनाउन महत्वपूर्ण योगदान गर्दै नेपालमा लोकतन्त्र पुन:स्थापनाका लागि सम्पन्न आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै शैक्षिक तथा सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्याएको बताएको छ।

‘उहाँको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहनेछ,’ शोक प्रस्तावमा उल्लेख छ, ‘उहाँको निधनबाट पार्टी र सिंगो मुलुकलाई अपूरणीय क्षति पुगेको छ ।’ बैठकले जोशीको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। 

उनको आज अपराह्न पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ।

पारित शाेक प्रस्ताव र निर्णय

प्रकाशित मिति: १५:२८ बजे, शनिबार, चैत १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्