Kathmandu Press

शालीन नेता जोशीको शवयात्रा

काठमाडौं, चैत १४ : शालीन नेता नवीन्द्रराज जोशीको शुक्रबार अल्पायुमै भएको निधनले सबैलाई स्तब्ध बनाएको छ।मष्तिष्कघात भएपछि फागुन १४ गते वीर अस्पताल लगिएका...
शालीन नेता जोशीको शवयात्रा
तस्बिर : सुजल बज्राचार्य

काठमाडौं, चैत १४ : शालीन नेता नवीन्द्रराज जोशीको शुक्रबार अल्पायुमै भएको निधनले सबैलाई स्तब्ध बनाएको छ।

मष्तिष्कघात भएपछि फागुन १४ गते वीर अस्पताल लगिएका उनलाई त्यहाँबाट नर्भिक अस्पताल लान सिफारिस गरिएको थियो। त्यसपछि नर्भिकमा भेन्टिलेटरको सहायताले उपचार हुँदै आएका उनको बीचमा केही समय स्वास्थ्यमा सामान्य सुधार पनि देखिएको थियो। पछि फेरि उनको स्वास्थ्यमा जटिलता देखिएको थियो। स्वास्थ्यमा आइपरेको प्रतिकूलतासँग लड्दालड्दै शुक्रबार राति ८ बजेर २४ मिनेटकाे समयमा ५६ वर्षकाे उमेरमा उनको निधन भएको हो। 

कसैलाई नचिढ्याउने, शान्त र भद्र स्वभाव भएका उनी अत्यन्त मिलनसार र सहयोगी नेता थिए। विद्यार्थीकालदेखि नै वैचारिक नेताको छवि बनाएका उनी नेविसंघका महामन्त्रीसमेत भएका थिए। लोकतन्त्रप्रति अत्यन्त प्रतिबद्ध उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहँदै आएका थिए। कांग्रेसका नेता भए पनि उनी अन्य पार्टीका नेताकार्यकर्तामाझ पनि निकै लोकप्रिय थिए।

२०४९ सालको स्थानीय निर्वाचनमा २८ वर्षकै उमेरमा तत्कालीन काठमाडौं नगरपालिकाको उपमेयर भएपछि उनले बेग्लै राजनीतिक उचाइ हासिल गरेका थिए। खस आर्य समुदायमा जन्मिएर पनि नेवार संस्कृतिमा भिज्न सफल उनले काठमाडौंबाट तीनपटक संसदीय निर्वाचन लडेका थिए । पहिलो र दोस्रो संविधानसभामा उनी काठमाडौं क्षेत्र नं ८ बाट विजयी पिन भएका थिए। दोस्रोपटक निर्वाचित भएका बेला उनले उद्योगमन्त्रीको  जिम्मेवारीसमेत सम्हालेका थिए।

उनको पार्थिव शरीरलाई शनिबार बिहान श्रद्धाञ्जलीका लागि काठमाडौंको यट्खास्थित निवासमा लगिएको थियो भने दिउँसो नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुर्याइएको छ। उनको शवयात्रामा नेताऔकार्यकर्ता तथा अन्य शुभचिन्तकहरूको बाक्लो उपस्थिति थियो। 

नेता जोशीको निधनपछि नेपाली कांग्रेसलगायत अन्य विभिन्न राजनीतिक दल, संघसंस्था तथा शुभचिन्तकहरूले असल नेता गुमाउनुपरेको भन्दै उनीप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरेका छन्।                

प्रकाशित मिति: १४:३४ बजे, शनिबार, चैत १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्