दोस्रो विश्वयुद्धताकाका मनोद्विपक औषधि अझै बजारमा
एक अध्ययनले अहिले पनि दोस्रो विश्वयुद्धको समयमा प्रयोग भएका मनोद्विपक औषधिहरू तौल घटाउन र खेल सप्लिमेन्टका रूपमा बिक्री भइरहेको देखाएको छ।एक अध्ययनले अहिले पनि दोस्रो विश्वयुद्धको समयमा प्रयोग भएका मनोद्विपक औषधिहरू तौल घटाउन र खेल सप्लिमेन्टका रूपमा बिक्री भइरहेको देखाएको छ ।
२३ मार्चमा क्लिनिकल टक्सिकोलोजी जर्नलमा प्रकाशित अध्ययनअनुसार ‘फेन्प्रोमेथामाइन’ नामक मनोद्विपक औषधि सन् १९४० र सन् १९५० को दशकमा यो नाकको औषधिका रूपमा बिक्री हुन्थ्यो, जसलाई भोनेड्राइन पनि भनिन्थ्यो । त्यसपछि यसलाई खुला बजारमा प्रतिबन्ध लगाइयो ।
यो औषधिलाई ‘वर्ल्ड एन्टी डोपिङ एजेन्सी’ले खेलाडीलाई दिन प्रतिबन्ध लगायो । सप्लिमेन्टमा फेन्प्रोमेथामिनको मात्रा रहेको पुष्टि हुने गरी नयाँ अध्ययन गरिएको अनुसन्धानकर्मीहरूको भनाइ छ ।
‘फेन्प्रोमेथामाइन’बाहेक अन्य आठ प्रतिबन्धित मनोद्विपक औषधि तौल घटाउने र खेलाडीको सप्लिमेन्टका रूपमा प्रयोग भइरहेको अध्ययनले खुलासा गरेको छ । अनुसन्धानकर्मीहरूका अनुसार पछिल्ला वर्षमा मनोद्विपक औषधिको ‘ककटेल’ तयार पारेर बजारमा पु¥याइने प्रवृत्ति बढ्दो छ ।
‘यो वास्तवमै आश्चर्यजनक छ,’ अध्ययनका प्रमुख तथा क्याम्ब्रिज स्वास्थ्य एलायन्सका एसिस्टेन्ट प्राध्यापक डा. पिटर कोहेनले भने, ‘एकसाथ नौ फरक मनोद्विपक औषधि पत्ता लाग्नु आश्चर्यजनक हो ।’ उनका अनुसार एउटै सप्लिमेन्टमा चार वटासम्म मनोद्विपक औषधिको ककटेल फेला परेको छ ।
अनुसन्धानकर्ताले ती औषधिको सप्लिमेन्ट मानव स्वास्थ्यका लागि कति हानिकारक छ भन्ने खुलाएका छैनन् । ‘अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले उपभोक्तालाई तौल घटाउन र खेल सल्लिमेन्टमा यी औषधि प्रयोग नगर्न चेतावनी दिनुपर्छ र यी औषधिलाई बजारबाट हटाउन तत्काल प्रभावकारी कदम चाल्नुपर्छ,’ अध्ययन रिपोर्टमा उल्लेख छ ।
मनोद्विपक औषधि लुकाएर बजारमा
अनुसन्धानकर्ताले आफ्नो अध्ययन फेन्प्रोमेथामाइनका लागि नभई डिटेरेनोल नामक मनोद्विपक औषधिबाट थालेका थिए ।
युरोपेली मुलुकमा गरिएको अध्ययनले डिटेरेनोलयुक्त अन्य मनोद्विपक औषधिले मानिसमा बान्ता हुने, छाती दुख्ने, हृदयाघातजस्ता हानिकारक प्रभाव पर्ने पत्ता लगाएको छ । डिटेरेनोलको प्रयोगका लागि अमेरिकाले कहिल्यै अनुमति दिएको छैन । सन् २००४ मा एफडीएले खाद्य सप्लिमेन्टमा मनोद्विपक औषधिको प्रयोगका लागि मागिएको अनुमति अस्वीकृत गरेको थियो ।
अध्ययन क्रममा अनुसन्धानकर्ताले अमेरिकी बजारमा बिक्री हुने १७ वटा ब्रान्डको सप्लिमेन्ट विश्लेषण गरेका थिए, जसमा डिटेरेनोल वा त्यस्तै औषधिको प्रयोग भएको पाइएको छ । ती उत्पादनलाई तौल घटाउने सप्लिमेन्ट र खेलाडीका लागि उपयुक्त हुने बताउँदै मार्केटिङ गर्ने गरिएको छ ।
अनुसन्धानकर्ताहरूले १७ मध्ये १३ वटा सप्लिमेन्टमा डिटेरेनोल फेला पारेका थिए । १७ ब्रान्डमध्ये चारवटामा फेन्प्रोमेथामाइन मिसाइएको थियो । फेन्प्रोमेथामाइनको सुरक्षाका बारेमा थोरै विवरण मात्र उपलब्ध छ । सन् १९४० र १९५० को दशकमा नाकको औषधिका रूपमा प्रयोग हुने यो औषधिको असरबारे थप अध्ययन आवश्यक रहेको कोहेनले बताए ।
फेन्प्रोमेथामाइन मात्र होइन, दोस्रो विश्वयुद्धताका प्रयोग भएको मनोद्विपक औषधि ‘इफेड्रा’ पनि बजारमा सप्लिमेन्टका रूपमा बिक्री भइरहेको अध्ययनबाट पुष्टि भएको छ । यसलाई सन् २००४ मै एफडीएले प्रतिबन्ध लगाएको थियो ।
‘एफडीएले मनोद्विपक औषधिबारे चेतावनी दिनेबित्तिकै नयाँ त्यस्तै प्रकारको औषधि बजारमा देखापर्दो रहेछ,’ कोहेनले भने ।
एफडीएले फेन्प्रोमेथामाइन प्रयोग नगर्न उपभोक्तालाई सुझाएको छैन । त्यसबाहेक एफडीएका अधिकारीहरूले सेप्टेम्बर २०२० मा औषधिको सप्लिमेन्टमा डिटेरेनोल पत्ता लगाएका थिए । तर, एफडीएले त्यसमाथि प्रतिबन्ध घोषणा गरेको छैन । ‘उनीहरूले उपभोक्तालाई तुरुन्तै डिटेरेनोलको बारेमा चेतावनी दिनुपथ्र्यो, तिनीहरूले मनोद्विपक औषधियुक्त सप्लिमेन्ट रोक्ने गरी उत्पादकसँग कुराकानी गर्नुपर्छ,’ कोहेनले भने ।
एफडीएले डिटेरेनोलबारे चेतावनी जारी नगरे पनि वर्ल्ड एन्टी डोपिङ एजेन्सीले तौल घटाउने सप्लिमेन्टको प्रयोग नगर्न आग्रह गरेको छ । एजेन्सीले आहार सप्लिमेन्टको बदलिँदो प्रवृत्ति पहिचान भएको र त्यसबाट हुने सम्भावित हानीबाट बच्न आग्रह गरेको छ ।
एसिस्टेन्ट प्राध्यापक कोहेन नेतृत्वको टोलीले सन् २०१८ मा पनि यस्तै अध्ययन गरेको थियो । र, त्यतिबेला पनि प्रतिबन्धित औषधिहरू आहार सप्लिमेन्टका रूपमा उपयोगमा रहेको पाइएको थियो ।
यस्ता औषधि आहार सप्लिमेन्टमा प्रयोग भए–नभएको जानकारी उपभोक्तालाई हुँदैन । किनकि, आहार सप्लिमेन्ट उत्पादकले त्यसबारे जानकारी दिएका हुँदैनन् । कोहेनका अनुसार उत्पादकले त्यस्ता औषधिको पर्यायवाची शब्द प्रयोग गरेका हुन्छन् ।
उनी उपभोक्तालाई दुई किसिमका आहार सप्लिमेन्टको प्रयोग रोक्न सल्लाह दिन्छन् । पहिलो– तौल घटाउन र दोस्रो– मांसपेशी मजबुत बनाउन सिफारिस गरिने सप्लिमेन्ट ।
‘यी श्रेणीका सप्लिमेन्टलाई दुईवटा कुरा नभएसम्म सुरक्षित मान्न सकिँदैन । पहिलो– कानूनमा सुधार हुनुप¥यो । दोस्रो– एफडीएले कानूनको प्रभावकारी कार्यान्वयन गर्नुप¥यो,’ कोहेन भन्छन् ।
एफडीएका अधिकारीहरूले नयाँ अध्ययनबारे समीक्षा भइरहेको बताएका छन् । ‘एफडीए आहार सप्लिमेन्टका लागि आफ्नो रणनीतिक प्राथमिकता निर्धारण गर्न प्रतिबद्ध छ । सुरक्षा, उत्पादन शुद्धता, सूची निर्धारण र निर्णय यसमा पर्छन्,’ एफडीएको विज्ञप्तिमा उल्लेख छ ।