कांग्रेस नेता जोशीको निधन
कांग्रेस नेता नवीन्द्रराज जोशीको शुक्रबार राति निधन भएको छ।राति आठ बजेर २४ मिनेट जाँदा अस्पतालले उनको निधन भएको घोषणा गरेको जोशीको परिवारले पुष्टि गरेको छ।
काठमाडौं, चैत १४ : कांग्रेस नेता नवीन्द्रराज जोशीको शुक्रबार राति निधन भएको छ।
राति आठ बजेर २४ मिनेट जाँदा अस्पतालले उनको निधन भएको घोषणा गरेको जोशीको परिवारले पुष्टि गरेको छ।
मस्तिष्कघात भएपछि काठमाडौं नर्भिक अस्पतालमा उपचाररत जोशीको निधन भएको अस्पतालका अधिकारीहरूले पनि पुष्टि गरेका छन्।
५७ वर्षीय जोशीलाई फागुन १३ गते मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। एक महिनादेखि उपचाररत जोशीको स्वास्थ्यमा खासै सुधार आएको थिएन।
संविधानसभामा काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित जोशी काठमाडौं महानगरपालिकाका पूर्वउपमेयर हुन्। २०३६ सालबाट विद्यार्थी राजनीतिमार्फत राजनीतिमा लागेका जोशीले नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेदारी सम्हालेका थिए।
त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका जोशीका बिभिन्न पत्रपत्रिकामा राजनीतिक लेखरचना प्रकाशित हुँदै आएका छन्। उनी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष पनि थिए।
नेता जोशीको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्। कांग्रेसले एक निष्ठावान नेता गुमाएको सभापति देउवाले उल्लेख गरेका छन्।
देउवाले भनेका छन्, 'नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु। जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ। उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।'
नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। pic.twitter.com/Rx6ynXJQSW
— Sher Bahadur Deuba (@DeubaSherbdr) March 26, 2021











