Kathmandu Press

प्रदूषण बढेकाले घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौंमा वायु प्रदूषण बढेकाले आवश्यक काम नहुँदा बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।
प्रदूषण बढेकाले घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
धुँवाले छाेपिएकाे काठमाडाैंसहित मध्य पहाडी क्षेत्रकाे आकाश।

काठमाडौं, चैत १३ : काठमाडौंमा वायु प्रदूषण बढेकाले आवश्यक काम नहुँदा बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

तराईमा आगलागी भएका कारण केही दिनदेखि काठमाडौंमा वायु प्रदूषण बढेको छ। विशेष गरेर चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षमा आगलागी हुँदा हावाले उडाएर धुवा काठमाडौं र आसपासको आकाशमा थुपारिएको छ।

यसले स्वास्थ्यमा असर पर्ने जनाउँदै स्वास्थ्य मन्त्रालयले घर बाहिर ननिस्कन आग्रह गरेको हो। शुक्रबार विज्ञप्ति निकाल्‍दै मन्त्रालयले भनेको छ, ‘घरबाहिर खुल्ला स्थानमा नबसौं, नखेलौ, मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने नगरौँ।’

मन्त्रालयले बालबालिका, दीर्घ रोगी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ। यससँगै फोहोरमैलाको उचित व्यवस्थापन गर्न र जथाभावी नजलाउनसमेत अनुरोध गरेको छ।

त्यस्तै घर बाहिर निस्किँदा अनिवार्य रुपमा मास्क प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले सचेत गराएको छ।

धुँवा, धुलो उड्ने ‍खालका पेशा, व्‍यवसाय र निर्माण कार्य नगर्न पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। यससँगै केही दिनलाई अत्यावश्‍यक नभई सवारी साधन पनि नचलाउन अनुरोध गरेको छ।

अहिले काठमाडौंको वायु प्रदूषण घातक अवस्थामा पुगेको छ। अत्यधिक वायु प्रदूषणका कारण बाहिर निस्किँदा आँखा पोल्ने समस्या हुन थालेको छ।

प्रकाशित मिति: १९:४३ बजे, शुक्रबार, चैत १३, २०७७