आफ्ना नेता पक्राउप्रति विप्लव समूहकाे आपत्ति
काठमाडौं, चैत १३ : प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ताप्लेजुङका नेता सागर लिम्बू ‘सक्कल’ लाई पक्राउ गरेको भन्दै आपत्ति जनाएको...
काठमाडौं, चैत १३ : ताप्लेजुङका आफ्ना नेता सागर लिम्बू ‘सक्कल’ लाई पक्राउ गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेची-कोसी ब्युरोले आपत्ति जनाएको छ।
पार्टी कामका सिलसिलामा हिँडिरहेका आफ्ना कार्यकर्तालाई पार्टी प्रतिबन्धकै अवस्थामा लागेको हातहतियार खरखजानाको मुद्दामा प्रहरीले पक्राउ गरेको बताए पनि त्यो कार्य सहमतिविपरीत रहेको सो पार्टीकारे भनाइ छ।
पार्टीको मेची-कोसी ब्युरो इन्चार्ज प्रकाशले आज (शुक्रबार) प्रेस विज्ञप्ति जारी गर्दै सरकार र आफ्नो पार्टीबीचको तिन बुँदे सहमति उल्लंघन गर्दै गिरफ्तार गरिनुले सरकारमाथिको इमानदारीमाथि प्रश्न उठेको जनाएका छन्। उनले पक्राउ गरिएको आफ्ना नेताको रिहाइको माग पनि गरेका छन्।
‘तिनबुँदे सहमतिप्रति प्रतिबद्ध रहेको हाम्रो पार्टी आफूले गरेको सहमतिप्रति नेपाल सरकार प्रतिबद्ध बनोस्, इमानदारीपूर्वक सहमतिकोे पालना गरोस्,’ विज्ञप्तिमा भनिएको छ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट लिम्बूलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो। ताप्लेजुङ प्रहरीले राजनीतिक आस्थाका रूपमा नभई अपराधमा संलग्न भएकाले पक्राउ गरिएको प्रतिक्रिया दिएको छ।
हेर्नुहोस् विज्ञप्ति






