Kathmandu Press

नियान्डथल्स मानवले दाँत सफाइमा प्रयोग गर्थे टुथपिक

दाँत कोट्याउने काठको टुथपिक दाँत सफा गर्ने सबैभन्दा सरल र पुरानो वस्तु मानिन्छ, जुन संसारभरका मानिसले प्रयोग गर्छन् । प्रथम मानव अर्थात् नियान्डथल्सदेखि...
नियान्डथल्स मानवले दाँत सफाइमा प्रयोग गर्थे टुथपिक

दाँत कोट्याउने काठको टुथपिक दाँत सफा गर्ने सबैभन्दा सरल र पुरानो वस्तु मानिन्छ, जुन संसारभरका मानिसले प्रयोग गर्छन् । प्रथम मानव अर्थात् नियान्डथल्सदेखि नै दाँतमा अड्केका वस्तु निकाल्न टुथपिकजस्तै वस्तु प्रयोग हुने गरेको एक अध्ययनमा पाइएको छ ।

युरोपभरबाट संकलित पुरातात्विक प्रमाणहरूले नियान्डथल मानवले पनि दाँतबाट खानाका टुक्रा निकाल्न यस्ता वस्तुको प्रयोग गर्ने गरेको खुलेको हो । सन् २०१० मा पोल्यान्डको गुफामा भेटिएको नियान्डरथलको दाँतमा कुनै वस्तुको घर्षणबाट रेखा र प्वाल बनेको पाइएको छ । र, त्यो काठको टुथपिक रहेको वैज्ञानिकहरूको निष्कर्ष छ ।

माथिल्ला बंगारा र रेडियो कार्बन डेटिङको नापबाट तीन दाँत ३० वर्षे पुरुष नियान्डथलको भएको वैज्ञानिकको निष्कर्ष छ । र, करिब ४६ हजार वर्षअघि पनि टुथपिक प्रयोग गरेर दाँतमा अड्केका वस्तु निकालिने गरेको पाइएको उनीहरू बताएका छन् ।

Hardik ivf

‘त्यतिबेला पनि दाँत र मुखको सरसफाइ गर्ने गरेको पाइएको छ । सम्भवतः अन्तिम दुई दाँतको बीचमा खाना अड्केको थियो र त्यसलाई हटाउन टुथपिकजस्तो वस्तु प्रयोग गरिएको थियो,’ साइन्स इन पोल्यान्डको लेखमा रोकलो युनिभर्सिटीका पुरातत्वविद् विलेट्टा नोवजेब्स्काले भनिन्, ‘हामीलाई थाहा छैन त्यतिबेला टुथपिक केबाट बनाइन्थ्यो– सानो डालाको टुक्रा, हड्डीको टुक्रा वा माछाको हड्डीबाट । यो पर्याप्त कडा, गोलाकार वस्तु हुनुपर्छ, जुन त्यस व्यक्तिले प्रयोग गर्ने गरेको स्पष्ट चिन्ह पायौँ ।’

संकलित दाँतमा बंगाराको भित्री भागमा चम्किलो ढाँचा छ । र, टुथपिकबाट रगडिएको देखिने ठाडो धर्सा छ ।

पोल्यान्डको क्राकऊनजिकै स्टाज्निया गुफामा अरू एक मुठी दाँत भेटिएका छन्, जुन नियान्डथल्सका भएको अनुमान छ । तीमध्ये केहीले प्राग–ऐतिहासिक कालमा दाँत सफा गर्न कुनै वस्तु प्रयोग हुने गरेको ती दाँतबाट देख्न सकिन्छ । ती दाँतहरू सड्दै गएकाले अध्ययनमा कठिनाइ भने आएको थियो ।

वैज्ञानिकहरूले ती दाँतको इनामेलमाथि टु–डी र थ्री–डी विश्लेषण गरेका थिए । दाँतको इनामेल होमो सेपियन्सको तुलनामा पातलो हुन्छ ।

थप माइटोकोन्ड्राइल डीएनए विश्लेषणले यो दाँत नियान्डथल्सको भएको पुष्टि गरेको हो । वैज्ञानिकहरूका अनुसार दाँतमा कुनै मेकानिकल घर्षणका कारण दाग लागेको थियो । युरोपमा यसअघि पाइएका यस्तै नमूनासँग उक्त दागले मेल खान्छ ।

सन् २०१७ मा पुरातत्त्वविद्हरूले क्रोएसियामा नियान्डथल्सको दाँत फेला पारेका थिए । त्यो दाँत उखेल्न छिनोको प्रयोग भएकोजस्तो रेखा पाइएको थियो । यो दाँत करिब एक लाख ३० हजार वर्षअघिको भएको अनुमान वैज्ञानिकहरूको छ । दुखाइ कम गर्न छिनो प्रयोग गरेर दाँत उखेलिएको हुन सक्ने अध्ययनको निष्कर्ष थियो ।

सन् २०१३ मा पनि स्पेनमा यस्तै अवस्थाका नियान्डथल्सका दाँत भेटिएका थिए । दुई बंगाराको बीचमा काठको टुक्रा अड्किएको थियो । नियान्डथल्सले दाँत सफा गर्न हड्डी, नसा र घाँस पनि प्रयोग गर्ने गरेका हुन सक्छन् । यद्यपि, अध्ययनबाट त्यसको पुष्टि हुन बाँकी छ ।

टुथपिकमाथि पुस्तक लेखेका प्रख्यात इन्जिनियर हेनरी पेट्रोस्कीका अनुसार टुथपिक यस्तो सुविधाजनक वस्तु हो, जसका लागि न त पार्टपूर्जा भेला पार्नुपर्छ, न मर्मत सम्भार नै आवश्यक हुन्छ । त्यसको प्रयोगका लागि पनि कुनै निर्देशिका आवश्यक पर्दैन । साइन्स फिक्सन ‘हिचहाइकर टु ग्यालेक्सी गाइड’ अनुसार पनि टुथपिक प्रयोग गर्ने मानिसको सबैभन्दा पुरानो आदत हो ।

नियान्डथल्सलाई आदिम जनावर पनि भन्ने गरिन्छ । तर, तिनीहरूमा बिनाकुनै दिशानिर्देश टुथपिक प्रयोग गर्ने सामान्य ज्ञान र अन्तर्बोध थियो भन्ने कुराको पुष्टि पछिल्लो अध्ययनले गरेको छ ।

साइन्स अलर्ट डट कमबाट
 

प्रकाशित मिति: ०६:३७ बजे, शुक्रबार, चैत १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्