Kathmandu Press

यस्तो छ माधव नेपालले दिएको ८ पृष्ठको स्पष्टीकरण

नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले बिहीबार पार्टीलाई ८ पृष्ठ लामाे स्पष्टीकरण बुझाएका छन्।
यस्तो छ माधव नेपालले दिएको ८ पृष्ठको स्पष्टीकरण

काठमाडौं, चैत १२ : नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले बिहीबार पार्टीलाई स्पष्टीकरण बुझाएका छन्।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकले नेपाललगायत चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। जसअनुसार, महासचिव ईश्वर पोखरेलले नेपाललगायत चार नेतालाई स्पष्टीकरण पत्र पठाएका थिए।

वरिष्ठ नेता नेपालले आज त्यसको जबाफ दिएका हुन्। उनले दिएको आठ पृष्ठ लामो स्पष्टीकरणमा अध्यक्ष ओलीले एमालेलाई फुटको डिलमा धकेलेको जनाएको छ। स्पष्टीकरण पत्रमा नेपालले आफू पक्षका केन्द्रीय सदस्यलाई जानकारी समेत नदिइ एकतर्फी रुपमा केन्द्रीय कमिटी बैठक बोलाएर पार्टीको विधानको उल्लंघन गरेको बताएका छन्। ओलीले स्पष्टीकरण सोध्नु नै अवैध भएको वरिष्ठ नेता नेपालले उल्लेख गरेका छन्।

त्यस्तै, अध्यक्ष ओलीले पार्टीको विधानसँगै देशको संविधान समेत मिचेको नेपालको भनाइ छ। 'पार्टी विधान र पद्धतिलाई ध्वस्त गर्नेतर्फ तपाईं उद्दत हुनुभएपछि नेकपा (एमाले)को नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र निर्देशन तथा पार्टी विधान र पद्धतिको रक्षाका लागि देशभरिका कार्यकर्ताहरूले गरेको छलफल र चिन्ता पार्टीको रक्षा एवं हितका लागि अत्यावश्यक भएको तथ्य स्पष्टै छु,' नेपालले भनेका छन्।

स्पष्टीकरण पत्रमा नेपालले प्रश्न गरेका छन्, 'तपाईंले बालुवाटारमा गुटको अवैधानिक भेलालाई पार्टी केन्द्रीय कमिटीको विशेष बैठकको संज्ञा दिने पार्टी विधान विपरीतको कार्य गर्नुका साथै पार्टी विधान र नियमावली तथा सम्बन्धित जनसंगठनका विधानहरु विपरीत देशभरी पार्टी कमिटी तथा पार्टीसँग सम्बद्ध जनसंगठनहरुको स्वेच्छाचारी किसिमले गठन र पुनर्गठन गर्दै पार्टीको एकता र प्रणालीमाथि नै प्रहार गरी पार्टीलाई फुटको डिलतर्फ धकेल्ने चेष्टा गरिरहनु भएको छैन र?'

नेपालले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्पष्टीकरण पत्र बुझाएका हुन्। त्यस्तै, एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव घनाश्याम भुसाल र नेता सुरेन्द्र पाण्डे पनि पार्टी कार्यालयमै स्पष्टीकरण पत्र बुझाएका छन्।

प्रकाशित मिति: १९:२५ बजे, बिहीबार, चैत १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्