अहिले नै लकडाउन र सीमा बन्द हुँदैन : अर्थमन्त्री पौडेल
काठमाडौं, चैत १२ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले नै लकडाउन र सीमा बन्द नहुने बताएका छन्। स्वास्थ्य मापदण्ड भने कडाइका साथ पालना गर्नुपर्ने...
काठमाडौं, चैत १२ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले नै लकडाउन र सीमा बन्द नहुने बताएका छन्। स्वास्थ्य मापदण्ड भने कडाइका साथ पालना गर्नुपर्ने बताए।
अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताए। 'हामी आशंकाबाट होइन, यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ। सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ, त्यसबाट हामी जोगिनु पर्नेछ,' उनले भने।
उनले आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने बताए। 'आर्थिक सामाजिक क्रियाकलापलाई नियमित र सूचारु पनि गर्नुपर्ने आवश्यकता छ । त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौं,' अर्थमन्त्री पौडेलले भने, 'अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन । त्यो अहिले उपयुक्त पनि हुँदैन।'
सरकार आगामी वर्षको बजेटको तयारीमा जुटिसकेको उनले बताए। सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि शुरु भइसकेको उनको भनाइ थियो।
कोभिडपछिको आर्थिक पुनर्उत्थान, रोजगारी सिर्जना लगायतका विषयमा केन्द्रीत भएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले बताए। 'हामी बजेटको तयारीमा जुटेका छौं। सिद्धान्त र प्राथमिकताको तयारी करिब अन्तिम चरणमा आईपुगेको छ। सँगसँगै हामी बजेटको तयारीमा पनि जुटिनै रहेका छौं, पौडेलले भने, समग्रतामा पछि बताउँला, उपयुक्त समयमा चर्चा गरौंला,' उनले भने, 'मुख्य गरिकन हामी कोभिड पछिको आर्थिक पुनरउत्थान, रोजगारी सिर्जना जस्ता विषयहरुमा बढ्ता केन्द्रीत हुन्छौं । नेपाली अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन र गतिशिल बनाउनका लागि गर्नुपर्ने निर्णहरु लिने गरी बजेट लिएर आउँछौं।'
राष्ट्रिय प्राथमिकताका विषयहरुलाई निश्चित गर्ने र बजेट कार्यान्वयनलाई सुनिश्चितता गर्ने कुरालाई ध्यान दिएर बजेट निर्माण गरिने पनि उनको भनाइ थियो। 'अहिले हामी दुई वटा कुरामा केन्द्रीत हुन चाहिरहेका छौं। बजेटले राष्ट्रिय प्राथमिकतालाई ठिक ढङ्गले चिनेर आउँछ। राष्ट्रिय सन्दर्भमा प्राथमिकताहरु ठिक ढंगले निश्चित गरेर आउँछ,' उनले भने, 'दोस्रो, बजेट कार्यान्वयनको सुनिश्चितता गरिन्छ । दुईवटा कुरामा हामी बढी ध्यान दिन्छौं । आजको हाम्रो प्राथमिकता के हो त्यो कुरामा हामी बढी होसियार हुन्छौं।'
न्युज एजेन्सी नेपालसँगकाे कुराकानीमा अर्थमन्त्री पौडेलले कोरोनाविरुद्धको खोप खरिदका लागि बजट अभाव नहुने बताए। खोप खरिदका लागि प्रयाप्र्त बजेटको व्यवस्था गरिने उनको भनाइ थियो।











