Kathmandu Press

धर्नास्थलमै पुगेर गृहमन्त्री बादलले भने– रेशम चौधरी रिहाइबारे छलफल गर्न वार्ता टोली बनाउनुस्

काठमाडौं, चैत १२ : थारु कल्याणकारिणी सभा, थारुहट-थारुवान संयुक्त संघर्ष समितिलगायतले बिहीबार माइतीघर मण्डलामा निलम्बित सांसद रेशम चौधरीको रिहाइको माग गर्दै धर्नाको आयोजना...
धर्नास्थलमै पुगेर गृहमन्त्री बादलले भने– रेशम चौधरी रिहाइबारे छलफल गर्न वार्ता टोली बनाउनुस्

काठमाडौं, चैत १२ : थारु कल्याणकारिणी सभा, थरुहट-थारुवान संयुक्त संघर्ष समितिलगायतले माइतीघर मण्डलामा सांसद रेशम चौधरीको रिहाइको माग गर्दै आइतबारदेखि दैनिक धर्ना दिँदै आएकाे छ।

सोही धर्नामा पुगेर बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले थारु अगुवाहरूलाई भेटेर वार्ता टोली बनाउन आग्रह गरे। थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले पनि सांसद चौधरीको रिहाइको विषयलाई मन्त्रिपरिषद्को बैठकमा लाने भनी गृहमन्त्रीबाट आश्वासन आएकाले चाँडै वार्ता टोली बनाउने बताए।

उनले टीकापुर घटना राजनीतिक मुद्दा भएको उल्लेख गर्दै त्यसलाई फौजदारी मुद्दाजसरी व्यवहार गर्न नहुने तर्क पनि गरे। कल्याणकारिणी सभालगायत थारू समुदायसम्बद्ध संघसंस्थाले २०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाको मुद्दा फिर्ता हुनुपर्ने माग राख्दै आएको छ। सोही घटनामा दोषी ठहरिएर अहिले जेलमा रहेकाको पनि रिहाइ माग गर्दै धर्ना दिँदै आएका छन्।

सरकारले विप्लव र सीके राउतलाई मूल धारमा ल्याइसक्दा पनि पहिचान तथा अधिकारको लडाइँ भएको टीकापुर घटनामा सांसद चौधरीसहितलाई मुद्दा लगाएकोप्रति विरोध पनि जनाइँदै आएको छ। कल्याणकारिणी सभाले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ज्ञापनपत्र पनि पेस गरिसकेकाे छ।

सत्ता सहकार्यबारे छलफल चलाइरहेको जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना सांसद चौधरीको रिहाइलाई नै मुख्य सर्त बनाएको छ। प्रदेश विभाजन गर्ने क्रममा असन्तुष्ट बनेको थारु समुदायले चलाएको आन्दोलनमा २०७२ भदौ ७ गते टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित नौ जना मारिएका थिए।

सो घटनाका मुख्य योजनाकार भन्दै सांसद चौधरीलाई कैलाली अदालतले जन्मकैदको सजाय सुनाएको थियो र त्यसैलाई उच्च अदालतल दिपायलले पनि सदर गरेको थियो। हाल चौधरीलाई  डिल्लीबजार कारागारमा राखिएको छ।

प्रकाशित मिति: १६:४८ बजे, बिहीबार, चैत १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्