दुर्गाप्रसादले पाए नागरिकता
इलाम, चैत १२ : ४० वर्ष भारतीय जेलमा बसेर भर्खरै छुटेर नेपाल आएका दीपक जैसी पनि भनिने दुर्गाप्रसाद तिम्सिनाको नागरिकताको प्रमाणपत्र बनेको छ। जिल्ला प्रशासन...
इलाम, चैत १२ : ४० वर्ष भारतीय जेलमा बसेर भर्खरै छुटेर नेपाल आएका दीपक जैसी पनि भनिने दुर्गाप्रसाद तिम्सिनाको नागरिकताको प्रमाणपत्र बनेको छ।
जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार उनलाई वंशजका आधारमा नागरिकता दिएको हो। प्रदेश १ सरकारले उनलाई तत्काल नागरिकता दिने र स्वास्थ्य उपचार गर्ने निर्णय गरेअनुसार चाँडै नागरिकता बनेको दुर्गाप्रसादका आफन्तले बताए।
भारतको कोलकातास्थित उच्च अदालतमा उनको नाम दीपक जैसी लेखिएको भए पनि नेपाली नागरिकता भने दुर्गाप्रसाद तिम्सिनाकै नाममा बनेको छ।

दीपक जैसी र दुर्गाप्रसाद तिम्सिना भन्ने व्यक्ति एउटै हो भन्ने सिफारिस पनि जिल्ला प्रशासन कार्यालय इलामबाट बनाउन लागिएकाे जानकारी उनका आफन्तले दिए।
परिवारका अनुसार ज्यादै थोरै बोलने दुर्गाप्रसाद घरमा बिस्तारै बोल्ने क्रम बढ्न थालेकाे छ। दुर्गाप्रसादको स्वास्थ्य परीक्षणका लागि माई नगरपालिका-१० स्थित घरमै डाक्टर जाने बताइएको छ।
घरमा जाने डाक्टरको परामर्शकै आधारमा उपचारका लागि कहाँ लाने कुन डाक्टरलाई देखाउने भन्ने टुंगो लागेपछि सोही अनुसार अगाडि बढ्ने जिल्ला प्रशासन कार्यालय इलामले बताएको छ। त्यसबापत लाग्ने सबै खर्च प्रदेशको सामाजिक विकास मन्त्रालयले बेहोर्ने बताइएको छ।











