भक्तपुरमा सांस्कृतिक कार्य सञ्चालन गर्न रोक, बिस्केट जात्रामा विकल्प खोजिने
काठमाडौं, चैत्र १२ : जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लामा कुनै पनि किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य सञ्चालन गर्न रोक लगाएको छ ।प्रमुख जिल्ला...
काठमाडौं, चैत्र १२ : जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लामा कुनै पनि किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य सञ्चालन गर्न रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोभिड–१९ अर्थात् कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको जोखिम बढेकाले जिल्लामा कुनै पनि किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य नगर्न र नगराउन अनुरोध गरेका हुन् । गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयको निर्देशनानुसार जिल्लामा कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बच्न र कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न भिडभाड हुने कुनै किसिमको कार्य नगर्न नगराउन अनुरोध गर्दै स्वीकृतविना यस्ता काम गरेको पाइए कारवाही गरिने उनले बताए ।
भक्तपुरमा नयाँ वर्षमा मनाइने प्रसिद्ध बिस्केट जात्रा सञ्चालनमा भने वैकल्पिक उपाय खोजिने उनले बताए। प्रजिअ भट्टराईले बिस्केट जात्रा रोक्नेबारे अहिले नै कुनै निर्णय नलिएको तर धेरै भिडभाड हुने भएकाले रथ तान्न र लिङ्गो उठाउनेबारेमा भने वैकल्पिक उपाय खोजिने बताए । बिस्केटका लागि हरेक वर्ष लिङ्गो तानेर ल्याउने परम्परा भए पनि यस वर्ष डोजर प्रयोग गरेर ल्याएको भन्दै उनले भैरवनाथको रथ र लिङ्गो तान्ने कार्यमा पनि मेशन वा अरु केही वैकल्पिक उपाय खोज्न सकिने बताए ।
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेका कारण गत वर्ष बिस्केट जात्रा औपचारिकतामा मात्रै सीमित गरिएको थियो । यस वर्ष भने बिस्केट जात्रा मनाउन तौमढीमा भैरवनाथको रथ बनाउने कार्य भइरहेको छ भने लिङ्गो ल्याएर राखिएको छ । भक्तपुरमा मात्रै नभई मध्यपुरथिमि बालकुमारीमा वैशाख २ गते मनाइने खट तथा सिन्दुर जात्रा र बोडेमा मनाइने जिब्रो छेड्ने जात्राको समेत तयारी भएको छ ।
प्रशासनले नजिकिँदै गरेको होली पर्वसमेत भिडभाड नहुने गरी आफ्नै घरमा बसेर मनाउन आग्रह गरेको छ । भीडभाड हुने सरकारी कार्यालयमा भोलिदेखि नै स्वास्थ्य मापदण्ड र सुरक्षाका उपाय अपनाएर मात्रै सेवा दिन निर्देशन दिएको प्रजिअ भट्टराईले बताए । (रासस)











