Kathmandu Press

जापानको राजधानीमा फेरि बढे सङ्क्रमित

टोकियो, चैत ११ : जापानको राजधानी टोकियोमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ।सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार टोकियोमा बुधबार थप ४२० जना...
जापानको राजधानीमा फेरि बढे सङ्क्रमित

टोकियो, चैत ११ : जापानको राजधानी टोकियोमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार टोकियोमा बुधबार थप ४२० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। योसँगै राजधानी टोकियोमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक लाख १८ हजार ४६१ पुगेको छ।

टोकियोमा बुधबार दोस्रो पटक दैनिक सङ्क्रमितको सङ्ख्या ४०० नाघेको हो। यसअघि अघिल्लो एकैदिनमा ४०९ जना सङ्क्रमित भएका थिए।

सरकारी अधिकारीहरुका अनुसार राजधानी टोकियोमा गत मङ्गलबार ३३७ जना र सोमबार १८७ जना नयाँ सङ्क्रमित थपिएका थिए।

टोकियो क्षेत्रमा यसअघि लामो समयदेखि लागू गरिएको धेरै प्रतिबन्धात्मक व्यवस्थाहरु हटाइएपछि सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको हो। कतिपय स्थानीय अधिकारीहरुले भने सार्वजनिक र ठूला कतिपय कार्यक्रमहरुका कारण सङ्क्रमण थप फैलिएको दाबी गरेका छन्।

पछिल्लो सात दिनमा औसतमा ३०९‍.७ जना नयाँ सङ्क्रमित थपिएको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।   

कोरोनाभाइरसबाट प्रभावित मुलुकहरुको सूचीमा जापान ३९औँ क्रममा पर्दछ । जापानमा अहिलेसम्म चार लाख ५७ हजार ७५४ जना सङ्क्रमित भएका छन्।

त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर आठ हजार ८६१ जनाको मृत्यु भएको जापानका अधिकारीहरुले जनाएका छन्।

प्रकाशित मिति: १९:३३ बजे, बुधबार, चैत ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्