बिस्केट जात्रा : राजकुमारीले हाच्छ्यूँ गर्दा सर्प निस्कने कथा
पहिले बिस्केट जात्रालाई नेवारीमा ‘बिस्याका’ भनिन्थ्यो। ‘बि’को अर्थ सर्प र ‘स्याका’को अर्थ मारेको हुन्छ। बिस्याकाको अपभ्रंश हुँदै बिस्का र बिस्केट जात्रा भन्न थालियो।काठमाडाैं, चैत ११ : आइतबार बिहान १० बजेतिर भक्तपुरको पाँचतले मन्दिरअगाडि चहलपहल थियो । कोही ट्र्याक्टरमा काठ ल्याउँदै थिए, कोही आएको काठ झार्नमा व्यस्त थिए, कोही काठमा बुट्टा भर्दै थिए । वृद्धदेखि युवा रथनिर्माणमा जुटेका थिए ।
६० वर्षीय प्रेमलाल शिल्पकार नेवारीमा अह्राउँदै थिए, ‘थो सिं अखे टि’ -यो काठ उता राख_ । उनी आफैँ पनि काममा खटिँदै थिए । उनी रथ बनाउने नायः -नाइके_ रहेछन् ।
भक्तपुरमा बिस्का (बिस्केट) जात्राका अवसरमा भैरवको रथ तान्ने गरिन्छ। प्रेमलालले बिस्केट जात्राका लागि भैरवनाथको रथ (भैल खः) बनाउने जिम्मा लिएर नायःका रुपमा काम गर्न थालेको १९ वर्ष भयो। त्यसो त यो उनको पुख्र्यौली पेसा हो। उनले जिम्मा लिनुअघि पनि रथ बनाउने काम उनकै परिवारले गर्र्दै आएको थियो। ‘पहिले मेरो हजुरबुवाले गर्नुहुन्थ्यो, उहाँ बितेपछि बुवाले गर्नुभयो र बुबापछि अहिले मैले यो काम गरिरहेको छु,’ प्रेमलाल हाँस्दै भन्छन्, ‘अहिले रथ बनाउने अरु नाइके भन्ने नै छैनन् यहाँ। अब यो रथ बनाउने जिम्मा लिएन भने हामीलाई पुलिसले लान्छ होला।’
प्रेमलाल पेसाले कार्पेन्टर हुन्। उनले पाटी, सत्तल र मन्दिर बनाउने काम गर्छन्। उनका दुई छोराले फर्निचर पसल खोलेका छन्। उनका छोरा प्रेमकृष्ण शिल्पकार पनि भैरवनाथको रथ बनाउने काठमा बुट्टा कुद्न व्यस्त थिए। ‘बुवाबाटै यो काम सिकेको हुँ। हरेक वर्ष बुबालाई सहयोग गर्न म आउँछु।’ उनका अनुसार, पछिल्लो पुस्तालाई बनाउने काम आउँदैन।
जात्राको सबै जिम्मा गुठी संस्थान कार्यालय लिन्छ। गुठीबाट रथ निर्माणका लागि बजेट आउँछ। अहिले रथ बनाउन ६ जना खटिएका छन्। अहिले प्रेमलाललाई दैनिक ज्याला २२ सय रुपैयाँ आउँछ भने अन्यको एक हजार भन्दा माथि ज्याला छ।
प्रेमलालका अनुसार, रथ निर्माणमा अधिकांश सामान प्रायः पुरानै प्रयोग गरिन्छ। बिग्रिएका सामान मात्र नयाँ फेर्ने चलन छ। अहिले रथमा प्रयोग भइरहेका कतिपय सामान ९० वर्ष पुराना रहेको उनले बताए। ‘धेरैजसो सामान पुरानै प्रयोग हुन्छ। यस वर्ष बेतसिं, पाङ्ग्रा, गल, पोल्ह (छाना) तथा बाहिर देखिने अधिकांश सामान नयाँ हुनेछन्,’ उनले भने।
गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यका अनुसार, बिस्केट जात्रा नौ दिन आठ रातसम्म मनाइन्छ। विक्रम संवत्को नयाँ वर्ष सुरु हुनु चार दिनअघि साँझ भैरवनाथको रथ तानेर जात्रा सुरु हुन्छ। यो वर्ष चैत २८ गते जात्रा सुरु हुनेछ। ‘चैत महिना ३० दिनको छ भने २७ गते र ३१ दिनको छ भने २८ गते रथ तान्ने प्रचलन छ। यो जात्रा हरेक वर्ष वैशाख ५ गते सम्पन्न हुन्छ,’ कर्माचार्यले भने, ‘अहिलेसम्म रथ बनाउने काम ७० प्रतिशत सकिइसकेको छ।’
फागुन २१ देखि सुरु भएको रथ निर्माण कार्य चैत २६ भित्र सकाउनैपर्छ। गत वर्ष भैरवनाथको रथ निर्माण हुँदै गर्दा कोरोना महामारीको त्रास बढ्यो। महामारी नियन्त्रणका लागि लकडाउन गरिएपछि रथ निर्माण बीचमै रोकेर जात्रालाई औपचारिक पूजामा सीमित गरिएको थियो। यो वर्ष जात्रालाई थप व्यवस्थित, भव्य र सभ्य बनाउन समयमै रथ निर्माण थालिएको कर्माचार्य बताउँछन्।
रथ कसरी बन्छ ?
रथका लागि आवश्यक काठ सूर्यविनायक, हेटौँडा लगायत जंगलबाट ल्याइन्छ। त्यसलाई काठ चिर्ने मिलमा लगी बोक्रा निकालिन्छ। काठमा चिरा परेको छ भने गम (ग्लु)को प्रयोग गरेर काठको धुलोको लेप लगाइन्छ। लेप सुकिसकेपछि काठलाई खाक्सीले घोटेर चिल्लो पारिन्छ र आवश्यकता अनुसार आकार दिइन्छ। रथलाई सुन्दर बनाउन काठमा विभिन्न बुट्टा कुदिन्छ।
सुरुमा सेतो कागजमा कलमले बुट्टा बनाइएको हुन्छ। त्यसपछि कार्बनकपीको सहयोगबाट उक्त चित्रलाई काठमा छापिन्छ। सोही बमोजिम काठलाई छिनोले खोपेर बुट्टा कुदिन्छ। रथमा सकेसम्म काठको मात्रै प्रयोग गरिन्छ।
सर्प मारेको कथा
धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा मल्लकालदेखि नै सुरु भएको संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग बताउँछन्। बिस्केट जात्राले सर्प मारेको कथा जनाउँछ। पहिले बिस्केट जात्रालाई नेवारीमा ‘बिस्याका’ भनिन्थ्यो। ‘बि’को अर्थ सर्प र ‘स्याका’को अर्थ मारेको हुन्छ। ग्वंग भन्छन्, ‘बिस्याकाको अपभ्रंश हुँदै बिस्का भन्न थालियो। अहिले बिस्केट जात्रा हुन पुगेको छ।’
ग्वंगका अनुसार, बिस्केट जात्राबारे किवंदन्ती छ। किंवदन्ती भन्छ :
मल्लकालीन समयमा तत्कालीन राजकुमारीको पहरेदारीका लागि गाउँबाट एक युवक खटाइने गरिएको थियो। तर, बिहान खटिएको युवक भोलिपल्ट बिहानसम्म मरिसकेको हुन्थ्यो। त्यसको कारण पनि अनौठो थियो।
राति सुत्दा ती राजकुमारीले हाच्छ्यूँ गर्थिन्। उनको नाकबाट दुईवटा कीरा निस्कन्थे। ती कीरा विशाल रूप लिएर सर्प बन्थे। भोलिपल्ट ती सर्पले राजकुमारीको पहरेदारीमा खटिएकालाई मार्थे। यो क्रम चलिरहेको थियो।
एक दिन सिकार खेल्ने क्रममा अन्य देशका एक राजकुमार भक्तपुर आइपुगे र एउटा घरमा बास बसे। उनी बसेको घरका परिवार सबै दुःखी थिए। राजकुमारले भने, ‘म आएर हजुरहरू दुःखी हुनुभएको हो भने म जान्छु !’
त्यो घरका मानिसले आफूहरु दुःखी हुनुको कारण सुनाए। भोलिपल्ट त्यस घरको एक्लो छोरा राजकुमारीको पहरेदार हुनुपर्ने पालो रहेछ। राजकुमारीको पहरेदार हुने कोही पनि नबाँच्ने भएकाले उनीहरु दुःखी भएका थिए। यो सुनेपछि ती पाहुना राजकुमारलाई सत्य जान्ने इच्छा भयो। उनले भने, ‘चिन्ता नगर्नुस्, भोलि राजकुमारीको पहरेदार हुन हजुरहरुको छोराको सट्टा म जान्छु।’
राजकुमारीको पहरेदारीमा खटिएका राजकुमारले निकै सतर्कता अपनाएका हुन्छन्। नभन्दै राति राजकुमारीले हाच्छ्यूँ गरेको आवाज आउँछ। राजकुमारीको नाकबाट निस्केर ठूलो आकार ग्रहण गर्दै गरेका सर्पलाई राजकुमारले मार्छन्। भोलिपल्ट बिहान दरबारका मानिस पहरेदारको लास उठाउन आउँछन्। किनभने, पहरेदारको मृत्यु हुन्छ भन्नेमा उनीहरु विश्वस्त थिए। तर, परिणाम उनीहरुले सोचेभन्दा फरक देखियो। पहरेदार जिउँदै पाएको खुसियालीमा बिस्केट जात्रा मनाउन थालिएको हो।
यसैको प्रतीकस्वरूप अहिलेसम्म बिस्का जात्रामा ठड्याइने ५५ हात लामो लिंगो (यमसिं) मा ३५ हात लामो दुईवटा विश्वध्वज (हलिंपत्त) राख्ने चलन छ। ती दुई विश्वध्वजलाई मरेको सर्पको रूपमा लिइन्छ। भक्तपुरको यो प्रसिद्ध जात्रा आठ दिन र नौरात सम्म चल्ने ग्वंगले बताए।
बिस्केट जात्राबारे अन्य विभिन्न किंवदन्ती पनि पढ्न र सुन्न पाइन्छ।