हरेक अस्पतालमा संक्रामक रोगसम्बन्धी निश्चित एकाइ बनाउन सुझाव
काठमाडौं, ११ चैत : प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिले प्रत्येक अस्पतालमा सङ्क्रामक रोगसम्बन्धी निश्चित शय्याको एकाइ व्यवस्था गर्न सुझाव दिएको छ। भविष्यमा...
काठमाडौं, चैत ११ : प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिले प्रत्येक अस्पतालमा सङ्क्रामक रोगसम्बन्धी निश्चित शय्याको एकाइ व्यवस्था गर्न सुझाव दिएको छ। भविष्यमा पनि सङ्क्रामक महामारी आउन सक्ने भन्दै उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्नुपर्ने सुझाव पनि उपसमितिले दिएको छ।
कोभिड-१९ नियन्त्रण तथा रोकथाम गर्न सरकारले चालेको कदमको स्थलगत अनुगमन तथा निरीक्षण गर्न उपसमिति बनाइएको थियो । सो उपसमितिले बुधबार सिंहदरबारमा बसेको बैठकमा समितिसमक्ष प्रतिवेदन पेस गरेको थियो। उपसमितिका संयोजक जीवनराम श्रेष्ठले समितिका सभापति जयपुरी घर्तीसमक्ष अध्ययन प्रतिवेदन पेस गरेका हुन्। प्रतिवेदनमा १८ बुँदे सुझाव समेटिएका छन्।
निजी तथा सरकारी अस्पतालमा अक्सिजन प्लान्ट राख्ने व्यवस्था मिलाउनुपर्ने र भएका प्लान्ट चालु राख्ने, सङ्क्रामक तथा अन्य रोगबारे जनस्तरमा निरन्तर रुपमा जनचेतना विकासको अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ। चिकित्सक बढुवा प्रणालीमा सुधार तथा अस्पतालमा दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन गर्न पनि सुझाइएको छ। केन्द्र, प्रदेश र स्थानीय तहअन्तर्गत सबै अस्पताल र स्वास्थ्य केन्द्र सञ्चालनका लागि स्पष्ट नीति ल्याउन पनि उपसमितिको सुझाव छ।
प्रतिवेदनमा प्रादेशिक र जिल्ला अस्पताललाई भेन्टिलेटरसहितको सघन उपचार कक्षलगायत सेवा प्रदान गर्ने गरी सुविधा सम्पन्न बनाउनुपर्ने, प्रादेशिक अस्पतालमा सबै रोगको उपचार हुने गरी क्षमता अभिवृद्धि गर्नुपर्ने बताइएको छ। कारागारलाई मानवीय वातावरणसहितको बस्ने स्थिति निर्माण गरी सङ्क्रामक रोग तथा अन्य स्वास्थ्य समस्यामा उपचार तथा व्यवस्थापनका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने पनि प्रतिवेदनमा समेटिएको छ ।
सङ्क्रामक रोगको उपचार, रोकथाम र नियन्त्रणका लािग विद्यमान कानून अपुग भएको हुँदा तीन तहको राज्यको संरचनालाई ध्यान दिन सोसम्बन्धी छुट्टै ऐन ल्याउनुपर्ने सुझाव दिइएको छ। कोभिड–१९ खोप वितरण कार्यक्रम सरल र प्रभावकारी बनाई यथाशक्य चाँडो खोप उपलब्धताको सुनिश्चिता गर्न तथा छिमेकी देशमा कोरोनाको लहर पुनः बढ्दो क्रममा देखिएकाले सरकारले पनि सोसम्बन्धी आवश्यक सतर्कता अपनाउन उपसमितिको सुझाव छ।
गत भदौ ९ गते गठित उपसमितिमा सांसद अञ्जना विशङ्खे, एकवाल मियाँ, तिलबहादुर महत क्षेत्री, नमिताकुमारी चौधरी, सन्तकुमार थारु र सरिता न्यौपाने सदस्य थिए।











