स्ववियु चुनाव हुनेमा आशंका छ : सुदेश पराजुली
त्रिभुवन विश्वविद्यालयको प्रशासनले सञ्चालन गरिरहेको गतिविधिप्रति उनले खेद व्यक्त गरे। गुटका नेता र मान्छेको भरिया बनेकालाई नियुक्त गर्दा त्रिवि तहसनहस भएको, शिक्षामा व्यापारीकरण मौलाएको उल्लेख गर्दै त्यसैका विरुद्ध अनेरास्ववियु उभिँदै आएको उनले स्पष्ट पारे।
काठमाडौं, चैत ११ : नेकपा एमाले नेपाल-खनाल समूहका पार्टीनिकट विद्यार्थी संगठनले समानान्तर कमिटी घोषणा गरेको छ। तर सोही कमिटीका अध्यक्ष सुदेश पराजुली भने त्यसलाई समानान्तर कमिटी मान्न तयार छैनन्।
आफू नेतृत्वको कमिटी नै आधिकारिक भएको उनले दाबी गरे। सबै जिल्लाबाट प्रतिनिधिमूलक उपस्थिति भएका विद्यार्थीले सर्वसम्मत ढंगले कमिटी निर्माण गरिएकाले समानान्तर भन्न नमिल्ने उनको तर्क छ।
‘अनेरास्ववियु राष्ट्रिय भेलाले तय गरेको केन्द्रीय कमिटी हो,’ उनले भने। अनेरास्ववियुको मूल मान्यता, विचार, दृष्टिकोण, आदर्शसँग जोडिएर अगाडि बढ्ने संगठन आफूहरूको भएको उनले दाबी गरे। त्यसविपरीतका साथीलाई भने हटायउको उनले बताए। ‘सत्ताले गलत गर्दा पनि ठीक छ भन्ने, सत्ताले चालेकोे प्रतिगामी कदम, तानाशाही व्यवहारलाई समेत ठीक भन्ने प्रवृत्तिका साथीहरूलाई संगठनबाट हटाइएको छ,’ उनले भने।
अनेरास्ववियुको नयाँ कमिटीमा अध्यक्ष सुदेश पराजुली, सहअध्यक्ष ओसिम आलम र महासचिव आरती लामा छन्। आठजना उपाध्यक्षमा यसु लामा, हिरेन्द्र शाही, लोकेश निरौला, माधव पन्थ, केशरी रेग्मी, सुदिप शर्मा, युवराज कुँवर र कल्पना थापा रहेका छन् भने सो कमिटीमा सचिव मात्र ३७ जना छन्।
उनीहरू मिलन राई, एकराज दाहाल, प्रकाश श्रेष्ठ, दीपक फुयाँल, रवि राय, प्रतीक्षा कार्की, भूपेन्द्र शाह, अशोक थापा, तपेन्द्र शाही, ऐनविक्रम कुँवर, कल्याण दाहाल, नरेश न्यौपाने, भूपेन्द्र शाही, सञ्जय लामा, दुर्गा जोशी, गणेशसिंह ऐरी, भीष्मराज सुवेदी, डम्बर सिंह, जंग विक, दीपक विष्ट, दिनेश लो, डा. निश्चल गुप्ता, लायक चौधरी, निशा चापागार्इं, हरिश खड्का, देवीनन्द मण्डल, राजकिशोर यादव, राजन शर्मा पराजुली, महेश श्रेष्ठ, प्रदीप थापा, राजु थामसाङ, किशोर टण्डन, दीपेश बराल, लक्ष्मी केसी, राजकुमार विक, राजेन्द्र कुँवर र भेषनाथ चापागाईं हुन्।
केन्द्रीय अनुशासन आयोगको अध्यक्ष शंकर गौतमलाई बनाइएको छ भने केन्द्रीय लेखा आयोग अध्यक्ष उत्तर खड्का चुनिएका छन्। केन्द्रीय निर्वाचन आयोग अध्यक्षको जिम्मेवारी रमेश बराललाई दिइएको छ। यो समूहले अखिल नेपाल महिला संघ र युवा संघ नेपालमा पनि समानान्तर कमिटी बनाइसकेको छ।
सत्तामा भएका विकृति, विसंगतिविरुद्ध बोल्ने, सत्तालाई खबरदारी गर्न सक्ने विद्यार्थीको संगठन अनेरास्ववियु रहेको उनले बताए। अनेरास्ववियुको मूल मर्मलाई बचाउन नयाँ कमिटी गठन गरिएको उनले बताए। ‘अनेरास्ववियुको मान्यतालाई स्थापित गर्न दबाब र जागरणका निमित्त नयाँ कमिटी निर्माण गरेका हौं,’ उनले भने। अनेरास्ववियुलाई नयाँ गति, ऊर्जा र योजनासाथ अगाडि बढाउने संकल्प रहेको उनले बताए।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन माग गर्दै आन्दोलनरत नेविसंघसँग सहमति गर्दै गत सोमबार त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्ववियु निर्वाचनको मिति जेठ ३० लाई तोकेको भए पनि चुनाव हुनेमा आफू विश्वस्त नभएको उनी बताउँछन्। त्रिविले लामो समययता स्ववियु चुनाव गर्न नसकेको उनले बताए। २०६० सालमा स्ववियु निर्वाचन भएपछि नेपालमा लोकतान्त्रिक गणतन्त्रको जग बसेको उनले बताए। त्यसबाटै नेपालमा लोकतन्त्रको जनादेश प्राप्त गर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।
उनी भन्छन्, ‘लोकतान्त्रिक गणतन्त्रका निम्ति अनेरास्ववियुका तमाम नेताकार्यकर्ता घाइते भए, ज्यानसमेत गुमाए। यो व्यवस्थाका लागि जीवन अर्पण गरे तर हाम्रै पार्टीका नेताहरू सरकारमा हुदाँ पनि स्ववियु कमजोर बनाउने काम भएको छ।’
सरकारमै हुँदा पनि स्ववियुलाई यस्तो अवस्थामा ल्याउने गतिविधिप्रति आफूहरूले निन्दा गरेको उनले बताए । जेठ ३० गत दत्तचित्त भएर चुनाव गराउने योजना हो भने त्यो स्वागतयोग्य भएको उनको भनाइ छ। स्ववियु देश हाँक्न सक्ने, देश निर्माण गर्न सक्ने विद्यार्थी नेतालाई जन्माउने संस्था भएकाले निर्वाचन हुनु उपयुक्त रहेको उनले बताए।
त्रिभुवन विश्वविद्यालयको प्रशासनले सञ्चालन गरिरहेको गतिविधिप्रति उनले खेद व्यक्त गरे। गुटका नेता र मान्छेको भरिया बनेकालाई नियुक्त गर्दा त्रिवि तहसनहस भएको, शिक्षामा व्यापारीकरण मौलाएको उल्लेख गर्दै त्यसैका विरुद्ध अनेरास्ववियु उभिँदै आएको उनले स्पष्ट पारे। स्ववियु निर्वाचन भए त्रिविमा रहेका यस्ता खराब गतिविधिको अन्त्य हुने उनले बताए।
स्ववियुले नै विद्यार्थी आन्दोलनलाई अगाडि बढाउने, गतिशीलता दिने, विद्यार्थीका नयाँ कार्ययोजनालाई स्थापित बनाउने कार्य गरेको उनले बताए। स्ववियु निर्वाचनको आवश्यकतामाथि जोड दिँदै आए पनि तोकिएको समयमा चुनाव हुनेमा उनले आशंका व्यक्त गरे। ‘त्रिविको आन्तरिक गतिविधि हेर्दा स्ववियुको चुनाव हुन्छ भन्नेमा म ढुक्क छैन,’ उनले भने।
सर्वोच्च अदालतको आदेशपछि ब्युँतिएको एमाले ओली समूह र नेपाल-खनाल समूहमा विभाजित छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले २८ गते आफू पक्षीय नेता तथा केन्द्रीय सदस्यको बैठक राखेर एकतर्फी रूपमा निर्णय गर्दै नेपाल-खनाल समूहका नेताहरूको जिम्मेवारी खोसेपछि सो समूहबाट त्यसको विरोध हुँदै आएको छ। त्यसयता छुट्टै गतिविधि गर्दै आएको नेपाल-खनाल समूहले चैत ४ र ५ गते ललितपुरको सानेपामा राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो। त्यसयता महिला, युवा र विद्यार्थीले समानान्तर कमिटी निर्माण गरिसकेका छन्।








![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)


