Kathmandu Press

ढाकामा गुञ्जियो ‘नेपाली हामी रहौँला कहाँ...’

काठमाडाैं, चैत १० : दुई देशबीचका उच्चस्तरीय भ्रमण र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लोकलयका भाका र नृत्यको प्रस्तुति विरलै पाइन्छ । बंगलादेशका राष्ट्रपिता बंगबन्धु...
ढाकामा गुञ्जियो ‘नेपाली हामी रहौँला कहाँ...’

काठमाडाैं, चैत १० : दुई देशबीचका उच्चस्तरीय भ्रमण र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लोकलयका भाका र नृत्यको प्रस्तुति विरलै पाइन्छ । बंगलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबर रहमानको जन्म शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदलगायत विशिष्ट व्यक्तिहरू सहभागी समारोहमा नेपाली कलाकारले आफ्नो बेजोड प्रस्तुति दिए ।

सो अवसरमा ‘असारे महिनामा...’, देखि ‘नेपाली हामी रहौँला...’सम्मका गीत गुञ्जिए । सोमबार साँझ झण्डै दुई घन्टासम्म अविछिन्न रुपमा गरिएको सांगीतिक प्रस्तुतिको लहरले अत्याधुनिक हलसहितको ढाकास्थित ‘नेशनल परेड स्क्वायर’को सभाकक्षा गुञ्जयमान भएको थियो ।

राष्ट्रपति भण्डारीले नेपाल–बङ्गलादेश सम्बन्ध र बंगबन्धुको जन्म शतवार्षिकी विषयमा विशिष्ट अतिथिका रुपमा सम्बोधन गरेकी थिइन् । सम्बोधनपछि उक्त सांस्कृतिक कार्यक्रम गरिएको थियो, जसलाई राष्ट्रपतिद्वयसँगै बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि हेरेकी थिइन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बंगलादेशी पक्षबाटै नेपाली कलाकारहरूको प्रस्तुति गराउन प्रस्ताव आएअनुसार तय गरिएको बताए । सामान्यतः यस्ता प्रस्तुतिका लागि स्वदेशबाटै भ्रमण दलमा सहभागी गराएर कलाकारहरू लाने चलन धेरै छैन । यस पटकको भ्रमणका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती पनि विशिष्ट सदस्यका रुपमा भ्रमण दलमा सहभागी थिए ।

भ्रमणका लागि नेपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईको नेतृत्वमा १९ सदस्यीय कलाकार टोली सम्मिलित भएको थियो । टोलीले राष्ट्रपति भवन शीतल निवासमा पूर्वाभ्यास गरी प्रस्तुति तय गरेको थियो । टोलीमा नृत्य निर्देशन शारदादेवी सिलवाल, बाँसुरी बादनमा दुर्गाप्रसाद खतिवडाले गरेका थिए ।

 

प्रकाशित मिति: २१:२१ बजे, मंगलबार, चैत १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्