Kathmandu Press

राष्ट्रपति भण्डारीको राजकीय भ्रमण फलदायी : मन्त्री ज्ञवाली

काठमाडौं, चैत १० : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमण फलदायी भएको बताएका छन्।राष्ट्रपति भण्डारी भ्रमण पूरा गरी...
राष्ट्रपति भण्डारीको राजकीय भ्रमण फलदायी : मन्त्री ज्ञवाली

काठमाडौं, चैत १० : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमण फलदायी भएको बताएका छन्।

राष्ट्रपति भण्डारी भ्रमण पूरा गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भ्रमणबारे जानकारी गराउँदै भ्रमणले नेपाल तथा बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउन मद्दत पुगेको बताए।

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकी मनाउने कार्यक्रममा सहभागी हुने सिलसिलामा राष्ट्रपति भण्डारी यही चैत ९ र १० गतेसम्म बङ्गलादेशको राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्केकी हुन्।

राष्ट्रपति भण्डारीले बङ्गलादेशका राष्ट्रपतिसँग ढाकामा सोमबार द्विपक्षीय वार्ता गरिन्। वार्ताको क्रममा उनीहरूबीच नेपाल तथा बङ्गलादेशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ एवं फलदायी बनाउने सन्दर्भमा द्विपक्षीय हितका सबै पक्षहरूमा छलफल एवं विचारको आदानप्रदान भएको मन्त्री ज्ञवालीले जानकारी दिए। साथै, दुई देशबीचको राजनीतिक सम्बन्धलाई सुढृढ गर्दै आर्थिक सम्बन्धलाई अझ गहिरो एवं फलदायी बनाउँदै लैजाने कुरामा सहमति भएको थियो।

त्यस अतिरिक्त ऊर्जा व्यापारको लागि द्विपक्षीय सहकार्यलाई अघि बढाउने, द्विपक्षीय व्यापारको प्रवर्द्धन गर्ने र व्यापारलाई सन्तुलित बनाउने, बङ्गलादेशले नेपाललाई सरल एवं सहज ढङ्गबाट पारवहन सेवा उपलब्ध गराउने, कृषि, संस्कृति, पर्यटन लगायतका क्षेत्रको विकासको लागि दुवै देशको सम्भाव्यतालाई आपसी सहकार्यको माध्यमबाट उच्चतम उपयोग गर्ने जस्ता विषयमा छलफल भएको थियो।

भ्रमणका दौरान राष्ट्रपति भण्डारी तथा बङ्गलादेशका प्रधानमन्त्री महामहिम शेख हसिनाबीचको भेटघाटको अवसरमा नेपालको जलविद्युत् बङ्गलादेशमा निर्यात गर्ने, दुवै देशबीचको व्यापारमा वृद्धि एवं सन्तुलन कायम गर्ने, हवाई सेवाको विस्तार, रेलसेवा तथा सडकमार्गको सुधार गर्ने विषयमा छलफल भएको मन्त्री ज्ञवालीले बताए।

साथै, अन्तर्देशीय जलमार्गको सञ्चालन जस्ता सम्पर्क सञ्जालको विकास गर्ने, नेपालको लागि बङ्गलादेशबाट थप पारवाहनको सुविधा उपलब्ध गराउने, शिक्षा एवं कृषि क्षेत्रमा सहकार्य वृद्धि गर्ने तथा जलवायु परिवर्तन जस्ता समसामयिक र ज्वलन्त विषयमा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मञ्चहरूमा एकापसमा सहयोग, अभिवृद्धि र सहकार्य गर्नेलगायतका विविध विषयहरूमा छलफल भएको थियो।

भ्रमणका क्रममा बङ्गलादेशका परराष्ट्र मन्त्री डा. ए.के. अब्दुल मोमेनले पनि सोमबार राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए। भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको र भ्रमणको अवसरमा नेपाल र बङ्गलादेशबीच विभिन्न चार समझदारी पत्र (लेटर अफ एक्सचेन्ज)मा हस्ताक्षर भएको मन्त्री ज्ञवालीले बताए।

राष्ट्रपतिले आजै ढाकास्थित नेपाली राजदूतावासको भ्रमण गर्नुका साथै बङ्गलादेशमा रहेका नेपाली नागरिकहरूसँग भेटघाट गरेकी थिइन्। राष्ट्रपति भण्डारीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री ज्ञवालीलगायत परराष्ट्र मन्त्रालय, राष्ट्रपतिको कार्यालय एवं सम्बन्धित अन्य मन्त्रालयका अधिकारीहरु सहभागी थिए। (रासस)

प्रकाशित मिति: २०:१२ बजे, मंगलबार, चैत १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्