अहिले मुलुकमा बहुमतको सरकार छः देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले बहुमतको सरकार रहेकाले आफू चाहेर पनि प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताएका छन्।
काठमाडौं, चैत १० : कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले बहुमतको सरकार रहेकाले आफू चाहेर पनि प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताएका छन्।
५६औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा नेपाल दलित संघले धरानमा मंगलबार आयोजना गरेको ‘समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था’ विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै देउवाले बहुमतको सरकार हुँदाहुँदै चाहेर पनि प्रधानमन्त्री बन्न नसक्ने बताए।
‘शेरबहादुरले प्रधानमन्त्री खाएन-खाएन भन्ने हल्ला छ तर त्यस्तो होइन। सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र दुईवटा पार्टी भए। अहिले बहुमतको सरकार छ,’ उनले भने, ‘बहुमतको सरकार हुँदाहुँदै मैले चाहेर प्रधानमन्त्री हुने हो र ? त्यसैले मैले चाहेर पनि हुँदैन। शेरबहादुरले प्रधानमन्त्री खाँदै खाएन भन्ने हल्ला छ। खान्छु भनेर मात्रै भएन नि।’
अर्को प्रसंगमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई फसाइएको उनले दाबी गरे। ‘विजय गच्छदार हाम्रो पार्टीको नेता हो, उहाँलाई फसाइएको छ, मलाई विश्वास छ, उहाँले न्याय पाउनु हुनेछ,’ देउवाले भने।
कम्युनिस्ट सरकारको प्रभावमा प्रहरी र सरकारी कर्मचारीले कांग्रेसका कार्यकर्तालाई दुःख दिएको भन्दै उनले आक्रोश पोखे।
उनले पार्टी संगठनलाई बलियो बनाउने गरी अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए। उनले भने, ‘कांग्रेसले दलित, महिला, आदिवासी, जनजाति सबैको भोट लिएर समावेशी सरकार बनाउनुपर्छ। आगामी चुनावमा बहुमत ल्याउने गरी जनसम्पर्क बढाउनूस्।’











