ओली हिटलरका नेपाली अवतार : नेपाल
काठमाडाैं, चैत १० : नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली हिट्लरको नेपाली अवतार भएको बताएका छन् । नेपाल प्रज्ञा...
काठमाडाैं, चैत १० : नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली हिट्लरको नेपाली अवतार भएको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान कमालादीमा आफू निकट विद्यार्थीहरुको राष्ट्रिय भेलालाई सम्बन्ध गर्दै नेता नेपालले ओलीले पार्टीमा आफ्नो एकाधिकार जमाउन खोज्दै हिटल प्रवृति देखाएको बताए ।
‘ओलीले पार्टीमा एकाधिकार कायम गर्न खोजेका छन्, यसले उनलाई हिटलरको नेपाली अवतारका रुपमा उभ्याएको छ’ उनले भने, ‘यो निरंकुशतालाई स्वीकार गर्न सकिन्नँ ।’ उनले ओलीमाथि व्यक्तिवादी बनेको र कम्युनिस्ट आन्दोलनलाई बिसर्जनको दिशातिर लगेको आरोप लगाए ।
ओली र जबबको कुनै साइनो नभएको बताउँदै ओलीले असली एमाले भएको भन्दै भ्रम छरेको नेता नेपालले आरोप लगाए । उनले भने, ‘जबज र केपी ओलीको कहिल्यै भेट नै भएन । जबज भनेको बहुमतको निर्णय मान्नु हो । पार्टीमा एकलौटी गर्ने ओली र जबज र उनको भेट कसरी हुन सक् छ ?’
नेता नेपालले आफूहरु पार्टी फुटाउने पक्षमा नरहे पनि ओली पार्टी फुटाउन लागि परेको बताए। ‘हामी पार्टी फुटाउँदैनौँ, पार्टी फुटाउने ओली नै हुन्’, उनले भने, ‘हामी एकताका पक्षमा छौँ।’ ओलीमा कम्युनिस्ट चरित्र नभएको बताउँदै नेता नेपालले ओलीले सुरुदेखि नै गुटका राजनीति गरेको बताए।











