नयाँ सरकार बन्न नसक्ने परिस्थितिमा चुनाव उपयुक्तः देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सरकार बन्न नसक्ने परिस्थितिमा निर्वाचनमा जानुपर्ने धारणा व्यक्त गरेका छन्।
विराटनगर, चैत १० : कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सरकार बन्न नसक्ने परिस्थितिमा निर्वाचनमा जानुपर्ने धारणा व्यक्त गरेका छन्।
मंगलबार विराटनगर विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै उनले मुलुकलाई अस्थिरतातर्फ जान नदिन निर्वाचन नै उपयुक्त हुने बताए। ‘कम्युनिस्ट नेतृत्वलाई जनताले दिएको म्यान्डेटको वैधानिकता समाप्त भइसक्यो,’ उनले भने।
अर्को प्रसंगमा सरकार परिवर्तनका लागि परिपक्व आधार तयार नभइसकेको उनले संकेत गरे। र, आधार तयार नभई संसदमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता नगरिने बताए।
‘कांग्रेस सरकारमा जाने हतारोमा छैन, अपरिपक्व काम गरेर आफ्नो साख गिराउने काम हामी गर्दैनौँ,’ उनले भने, ‘तर, परिस्थिति परिपक्व बनेको खण्डमा कांग्रेस सरकारको नेतृत्व लिन तयार छ। पहिले एमालेबाहेकका दलहरू मिलेर सरकार बन्ने स्थिति हुनुपर्यो।’
प्रकाशित मिति: १३:१७ बजे, मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











